add

चोरी नियन्त्रण गर्न प्रहरीको थप फोर्स परिचालन






ActPro Nepal

|

२६ जेठ, २०८०

|
296

काठमाडौ । बढ्दो चोरी नियन्त्रणका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानीमा स्थानीय युवासहित प्रहरीको थप फोर्स परिचालन भएको छ । 

दिनहुँजसो सौरपानी क्षेत्रमा चोरी डकैतीको शृङ्खलाबद्ध घटना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले प्रहरीको थप फोर्स परिचालन गरेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको विशेष सुरक्षा टोलीसमेत आज सौरपानी पुगेर जनप्रतिनिधि तथा स्थानीयवासीसँग छलफल गरेको उनले बताए । “चोरी डकैतीबाट सौरपानीवासीको जनधनको सुरक्षाका लागि अहिले सौरपानी प्रहरी चौकीमा प्रहरीको सङ्ख्या बढाएर १० पुर्याउने निर्णय भएको छ”, अध्यक्ष भट्टले भने, “प्रहरीसँग मिलेर अब स्थानीय युवाले समेत गस्ती गर्नेछन् ।”

त्यसबाहेक अन्य तीन ठाउँमा अस्थायीरूपमा प्रहरीको टोली राखेर परिचालन गर्ने निर्णय पनि भएको उनले बताए । “रन्चोक र खारचोक भन्ज्याङ र भुन्चोकटारमा अस्थायीरूपमा जनताको घरमै बसेर प्रहरीले जनताको सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ”, अध्यक्ष भट्टले भने, “समुदायसँगै प्रहरीले बसेर युवाहरूसँग मिलेर शान्ति सुरक्षाको व्यवस्था मिलाउने छ ।”

गएको केही समयदेखि सौरपानी क्षेत्र चोरी डकैतीको घटना बढ्दै गएपछि त्यहाँका स्थानीयवासी त्रासमा छन् । साँझ परेपछि चोरी डकैतीको घटना हुने र स्थानीयवासी हिँडडुल गर्नसमेत नसक्ने अवस्था रहेको भन्दै सुरक्षा व्यवस्था मिलाइदिन स्थानीयवासीले माग गर्दै आएका थिए ।

गोरखाका प्रमुख जिल्ला दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम खनालसहितको टोली आज सौरपानी पुगेर सुरक्षा अवस्थाका बारेमा जानकारी लिएको बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आर्चायले जानकारी दिए ।

जनप्रतिनिधि, स्थानीयवासीसँगको छलफलपछि चोरीका घटना नियन्त्रण तथा शान्ति सुरक्षाका लागि सादा पोशाकमा प्रहरीसमेत परिचालन भएको उनले बताए । प्रहरी र स्थानीय युवाको सुरक्षा सक्रियता बढेपछि स्थानीवासीसमेत खुसी भएका छन् । सौरपानीस्थित वडा कार्यालयमा भएको छलफलमा बारपाक–सुलिकोट–४ सौरपानीका वडाध्यक्ष भीम गुरुङ, वडा सदस्यलगायतका स्थानीयवासीको सहभागिता थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.