काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सहयोग गर्ने बताएका छन् ।
मेलम्चीमा आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री बस्नेतले खेलले स्वस्थ रहन पनि धेरै सहयोग पुग्ने बताए ।
सिन्धुपाल्चोक घर भई हाल अमेरिका रहेका राम श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा खेल गतिविधि बढाउन सहयोग गरेकोमा उनले आभार प्रकट गरेका छन् ।
मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन आफू लागिपरेको बताए ।
आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि सिन्धु योङ स्टार क्लब मेलम्ची-९ ले हात पारेको छ । फाइनलमा मेलम्ची-७ दुवाचौरलाई ३-१ को सेटमा पराजित गर्दै सिन्धु योङ स्टारले उपाधिमाथि कब्जा जमाएको हो ।
मेलम्ची-९ ले दुवाचौरलाई २५-२०, २५-१८, २०-२५ र २५-१६ ले पराजित गरेको हो । उपाधिसँगै मेलम्ची-९ ले दुई लाख हात पारेको छ भने मेलम्ची-७ दुवाचौरले एक लाखमा चित्त बुझाएको छ ।
त्यस्तै वनकाली युवा समाज जुगलले तेस्रो स्थान हात पारेको छ । सिर्जनशील युवा क्लब दुवाचौर छापलाई ३-२ को सेटमा पराजित गर्दै वनकाली तेस्रो भएको हो ।
उसले ७५ हजार नगद पाएको छ । खेलाडीलाई नगद, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
मेलम्ची युवा क्लबको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा वैशाख २५ गतेबाट सुरु भएको प्रतियोगितामा अनुशासित टिम मेलम्ची-२ घोषित भएको प्रतियोगिताको सहजीकरण गरिरहेका प्रकाश सापकोटाले जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।