add

कामपाले विद्यालयमा सुरु गर्‍याे सीपमूलक शिक्षा कार्यक्रम






ActPro Nepal

|

१२ वैशाख, २०८०

|
347

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ। 

महानगरपालिकाले पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्न आज (मंगलबार) उक्त कार्यक्रम थालनी गरेको हो।   

विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्न कार्यक्रम थालनी गरिएको कामपाका प्रमुख बालेन्द्र साहले बताए।

कार्यक्रमका लागि चालू आर्थिक वर्षका लागि १ लाख रूपैयाँ विनियोजन गरिएको थियो भने आगामी आर्थिक वर्षका लागि प्रत्येक विद्यालयलाई २ लाख रूपैयाँका दरले बजेट विनियोजन गरिएको उनको भनाइ छ। 

कार्यक्रमअन्तर्गत ९० घण्टाको तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला‚ नङ कुँदेर बेलबुट्टा भर्ने काम, पाककलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्।

फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान वायरिङ एण्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने परम्परागत कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिएको छ।  

हाल ११ वटा सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषय पठनपाठन भइरहेका छन्। विद्यालय तह पूरा गर्दा विद्यार्थीले शैक्षिक प्रमाणपत्रसँगै रुचि अनुसारको जीवनमा उपयोगी सीपको प्रमाणपत्र पनि प्राप्त गर्ने कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।    

तालिमको एक समूहमा २० जनादेखि ३० जनासम्म विद्यार्थी राखिनेछ। कार्यक्रमको पहिलो वर्ष शैक्षिक सत्र २०८० मा कक्षा ९ का लागि नमूना कार्यक्रम लागू गरिनेछ। यसका लागि विद्यालयलाई अनुदान रकम उपलब्ध गराइनेछ।

सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेर मान्यता प्राप्त संस्था र निकायबाट प्रशिक्षण प्रशिक्षक तालिम लिएका व्यक्ति तालिमका प्रशिक्षक हुनसक्ने बताइएको छ।

दक्ष जनशक्ति उत्पादन गर्न कामपाले ११औँ नगरसभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ।

अहिले महानगरमा ८९ वटा सरकारी विद्यालय छन्। त्यसमध्ये ५९ वटा माध्यमिक विद्यालय र ३० वटा प्राथमिक विद्यालय छन्। त्यसैगरी ५४० निजी विद्यालयमा १ लाख ५० हजार विद्यार्थी अध्ययनरत छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.