काठमाडौं । गत मंगलबार (वैशाख ५ गते) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । बिहीबार सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका निर्णय सार्वजनिक गरेकी हुन् ।
सरकारले राष्ट्रिय सतर्कता केन्द्र सञ्चालनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै सरकारले दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीनजना नायव महान्यायाधीवक्तालाई स्वीकृति दिने, अजरबैजानको बाकुमा आयोजना हुने एसोसाई वर्किङ ग्रुप अन एसडिजिएसको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक राममायाँ कुँवरलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता शर्माले सरकारले लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर एकाउण्टेण्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने, सार्वजनिक संस्थान सुझाब समिति अवधारणा पत्र, २०८० स्वीकृत गरी शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाब समिति गठन गर्ने, नेपाल—भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूह, (सहसचिवस्तर) को चौथो बैठक मिति २०८०/०१/१२ मा काठमाडौंमा आयोजना गर्ने निर्णय भएको बताइन् ।
साथै सरकारले जिल्ला समन्वय समिति, प्युठानको नाममा दर्ता रहेको प्युठान जिल्ला साविक विजयनगर गा.वि.स. वडा नम्बर २ स्थित ०—२—२—० र ५—६—३—१ रोपनी जग्गा सोही स्वास्थ्य कार्यालय, प्युठानको प्रशासनिक भवन निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने, स्याङ्जा जिल्ला साविक पुतलीबजार गा.वि.स. वडा नम्बर ९ स्थित ४—१—१—३ र ११—१—२—२ रोपनी सार्वजनिक जग्गा ३० वर्षका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने र भूउपयोग (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको उनले बताइन् ।
त्यस्तै, सरकारले काठमाडौं—तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने, काठमाडौं—तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत्र मसान्तसम्म थप गर्ने, नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथी दर्जामा, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा, एकजना सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा र दुईजना महासेनानीहरुको सरुवा गर्ने निर्णय भएको बताइन् ।
उनका अनुसार सरकारले सुनिगाड जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरु निर्माण गर्न बझाङ जिल्लाको जयपृथ्वीबहादुर नगरपालिका ११, सुर्मा गा.पा. वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.८४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने, माथिल्लो रिचेत खोला जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका पूर्वाधारहरु निर्माण गर्न गोरखा जिल्लाको आरुघाट गा.पा.वडा नम्बर १ र धार्चे गा.पा. वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन भित्रको २.७५ हेक्टर जग्गा तीस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने र लोकसेवा आयोगको सिफारिस बमोजिम तीनजना कर्मचारीलाई निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव (प्रा.) पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रवक्ता शर्माले प्रधानमन्त्रीको भारत भ्रमण हुने, तर मिति निश्चित भइनसकेको बताइन् । मिति तय भइसकेपछि नै भ्रमणको तयारीको बारेमा मन्त्रालयले प्राथमिकताका आधारमा योजना बनाउनेउनको भनाइ छ ।
‘के कस्ता योजना समावेश गर्ने ? भन्ने कुरा क्याबिनेटबाट नै स्वीकृत हुने हुँदा अहिले मिति तोकि सकिएको छैन,’ उनले भनिन्, ‘भारत सरकारसँग सम्बन्धित रहने योजना, जुन भारतसँग सहयोग लिनुपर्ने हुन्छ, तिनै योजना नै प्राथमिकतामा पर्ने हो । सीमा सम्बन्धी समस्याका कुरा प्राथमिकतामा पर्नेछन् ।’
निजी कम्पनीलाई दिने कुरा र सार्वजनकि खरिद ऐन आकर्षित भएकाले खारेज भएको उनको भनाइ छ ।
राष्ट्रिय सतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।
दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायब महान्यायाधीवक्ताहरुलाई स्वीकृति दिने ।
अजरबैजानको बाकुमा आयोजना हुने एसोसाइ वर्किङ ग्रुप अन एसडिजीएसको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक श्री राममायाँ कुँवरलाई स्वीकृति प्रदान गर्ने ।
लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर एकाउण्टेण्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने ।
सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरी श्री शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने ।
नेपाल—भारत पेट्रोलियम तथा ग्याँस सम्बन्धी संयुक्त कार्य समूह, (सहसचिवस्तर) को चौथो बैठक मिति २०८०/०१/१२ मा काठमाडौंमा आयोजना गर्ने ।
जिल्ला समन्वय समिति, प्युठानको नाममा दर्ता रहेको प्युठान जिल्ला साविक विजयनगर गा.वि.स. वडा नम्बर २ स्थित ०—२—२—० र ५—६—३—१ रोपनी जग्गा सोही स्वास्थ्य कार्यालय, प्युठानको प्रशासनिक भवन निर्मार्णाथ उपयोग गर्न स्वीकृति दिने ।
स्याङ्जा जिल्ला साविक पुतलीबजार गा.वि.स. वडा नम्बर ९ स्थित ४—१—१—३ र ११—१—२—२ रोपनी सार्वजनिक जग्गा ३० वर्षका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने ।
भूउपयोग (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने ।
काठमाडौं—तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने ।
काठमाडौं—तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत्र मसान्तसम्म थप गर्ने ।
नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथी दर्जामा, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा, एकजना सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा र दुई जना महासेनानीहरुको सरुवा गर्ने ।
सुनिगाड जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरु निर्माण गर्न बझाङ जिल्लाको जयपृथ्वीबहादुर नगरपालिका ११, सुर्मा गा.पा. वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.८४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने ।
माथिल्लो रिचेत खोला जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका पूर्वाधारहरु निर्माण गर्न गोरखा जिल्लाको आरुघाट गा.पा.वडा नम्बर १ र धार्चे गा.पा. वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन भित्रको २.७५ हेक्टर जग्गा तीस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने ।
लोकसेवा आयोगको सिफारिस बमोजिम तीन जना कर्मचारीहरुलाई निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव (प्रा.) पदमा नियुक्त गर्ने ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।