add

कोशी प्रदेश : आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यबद्धता






ActPro Nepal

|

१९ चैत, २०७९

|
381

विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ।

माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार विज्ञप्ति प्रकाशित गर्दै नामकरण सच्याउनका लागि भइरहेको पहिचान पक्षधरहरूको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो। ‘नामाङ्कन सच्याउन हाल पहिचान पक्षधर विभिन्न संघ, संस्थाले चलाइरहेको शान्तिपूर्ण आन्दोलनप्रति हाम्रो पार्टीको समर्थन र ऐक्यबद्धता रहेको छ’‚ पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (सुशील)ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस्तै माओवादी केन्द्रले पहिचान पक्षधरहरूको प्रतिकूल अंकगणित रहेको अवस्थामा प्रदेशसभाबाट पारित गरी प्रदेशको नाम राखिएको सन्दर्भमा प्रदेश पार्टी र संसदीय दलले गम्भीरतापूर्वक छलफल र समीक्षा गरिरहेको पनि प्रष्ट पारेको छ।

‘शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, कर्मचारी प्रशासन आदिमा प्रदेशको स्वायत्तता कायम रहने संघीयता र सोही सार अनुसारको रूप अर्थात् बहुपहिचान नामका निम्ति संघर्ष गर्न हाम्रो पार्टी प्रतिबद्ध छ’, विज्ञप्तिमा भनिएको छ, ‘पहिचान पक्षधर संघ, संस्था पार्टी र समुदायले पनि यो विषयमा गम्भीर समीक्षा गर्दै भावी आन्दोलनलाई सफल बनाउन साझा एजेन्डा र साझा विषयमा सहकार्यसहित नयाँ सीमाङ्कन र नयाँ पहिचानलाई स्थापित गर्ने सम्भावनामा पनि बहस जरुरी रहेको स्पष्ट पार्न चाहन्छौं।’

माओवादी केन्द्रले आन्दोलनका क्रममा घाइते भइ मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) लाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलनका क्रममा घाइते भएका सबै आन्दोलनकारीको सरकारका तर्फबाट निःशुल्क उपचार हुनुपर्ने माग पनि गरेको छ।

उसले पहिचानवादीको आन्दोलनलाई वार्तामार्फत समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

‘आन्दोलनमाथि दमन गरेर होइन सरकारका तर्फबाट याथाशीघ्र वार्तामार्फत आन्दोलनरत पक्षसँग संवाद गर्न आग्रह गर्दछौं। साथै पहिचान देखिने गरी पुनः नामकरणबारे छलफल गर्न हाम्रो पार्टी तयार रहेको पनि जानकारी गराउँछौँ’‚ विज्ञप्तिमा उल्लेख छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.