add

राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त‚ २ वर्षपछि चोरीको अभियोगमा पक्राउ






ActPro Nepal

|

११ फागुन, २०७९

|
347

काठमाडौं । प्रजातन्त्र दिवसको दिन राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका २ जनासहित चोरीको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको चोरीको आरोपमा प्रहरीले पाँचथर घर भई गोकर्णेश्वरका सुनचाँदी व्यवसायी ४३ वर्षीय राजकुमार योङ्या लिम्बू, धनकुटाका ३८ वर्षीय जीवन मगर, मकवानपुरका ४२ वर्षीय रेशम रूम्बा, धादिङका सागर तामाङ, सिन्धुपाल्चोकका पेम्बा लामा र मुस्ताङका डिमा वाङ्दी गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार पक्राउ परेकामध्ये रेशम रुम्बा, सागर तामाङ र योङ्या लिम्बु आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। तीमध्ये मकवानपुरका रुम्बा र धादिङका तामाङ २०६९ जेठ २ गते ज्यान मुद्दामा जेल परेका थिए।

७ वर्ष कैदपछि २०७७ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन राष्ट्रपतिबाट आममाफी पाएर उनीहरू छुटेको देखिएको प्रहरीले जनाएको छ। लिम्बू पनि गत असोज ३० गते सवारी अंगभंग मुद्दा दर्ता भएर तारिखमा रहेको देखिएको एसपी रिजालले बताए।

गत पुस ७ गते बिहान करिब २ बजे काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित साङ्गे लामाको घरको पूजा कोठाको झ्यालको ग्रिल फुटाएर चोरी भएको थियो। अन्दाजी ४२ लाख रूपैयाँ बराबरको मुगा, सि-माला, सुनको गरगहना, चाँदीका विभिन्न तिब्बती पूजाको सामान ​चोरी भएको थियो।

फागुन १ गते राति करिब साढे २ बजे ललितपुर महानगरपालिका-१६ पाटन घर भई हाल काठमाडौं-६ बौद्ध स्तुपास्थित सुनचाँदी तथा विभिन्न धातुका ह्याण्डी क्राफ्ट पसल सञ्चालन गर्ने सुजन शाक्यको पसलको स्टोरको ताला फुटाएर सुनचाँदीसहित करिब ३५ लाख ५० हजार ९५० रूपैयाँ बराबरको सामान चोरी भएको थियो।

चोरीको उजुरी परेपछि प्रहरीले अनुसन्धानका क्रममा दिनको समयमा आफ्नै ट्याक्सी लिइ चोरी गर्ने घरको लोकेशनलगायतको सूचना लिएको पाइएको एसपी रिजालले बताए।

त्यस्तै, चोरी गर्ने एरियाको बाटोमा भएका सिसी.क्यामरा फुटाउने वा बङ्ग्याई आवतजावत गरेको नदेखिने बनाउने, चोरीमा प्रयोग हुने आफ्नै ट्याक्सीको नम्बर प्लेट केही छोपेर प्रयोग गरेका थिए।

उनीहरुले चोरी गर्न जाँदा विभिन्न ब्राण्डका (एडिडास, रिबोक, पुमा आदि) महँगा ब्राण्डका कपडा, जुत्ता र क्याप प्रयोग गरेका थिए भने चोरी गरिसकेपछि हुलिया परिवर्तनका लागि ब्राण्डेड कपडा, जुत्ता र क्याप आदि फेर्ने गरेका थिए।

प्रहरीका अनुसार उनीहरूले नगद, सुन, चाँदी वा बहुमूल्य धातुहरू मात्र चोर्ने गरेका थिए भने चोरीका सामान पाँचथर हिलिहाङ गाउँपालिका वडा नम्बर ४ घर भई हाल गोकर्णेश्वर नपा-५ मा बस्ने वर्ष ४३ को राजकुमार योङया लिम्बुले सोही स्थानमा सञ्चालन गरेको पाथीभरा सुन चाँदी पसलमा बिक्री गर्ने गरेका थिए।

पक्राउ परेका उनीहरूबाट २ लाख ४० हजार नगद, सुनको सिक्री, चोकर, मंगलसुत्र, चिम्टी, पोते भएको थान–२१, चन्द्रमा थान–१, चाँदीको जस्तो देखिने सेतो धातुको तिब्बती पूजाका भाँडा बर्तनहरू बरामद गरिएको छ।

त्यस्तै, कोठाको ताल्चा फुटाउन, ग्रिल खोल्न प्रयोग गर्ने औजार फलामका रड ३ थानसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका ६ जनालाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ।

यी हुन् पक्राउ परेका व्यक्तिः

१. पाँचथर हिलिहाङ गा.पा. वडा नम्बर ४ घर भई हाल गोकर्णेश्वर नपा-५ मा सुनचाँदी व्यवसाय गर्ने वर्ष ४३ को राजकुमार योङया लिम्बु। 

२. धनकुटा घर भई हाल काठमाडौंको गोकर्णेश्वर नपा-८ छाहारी क्लब बस्ने वर्ष ३८ को जीवन मगर।

३. मकवानपुरगढी वडा नम्बर ४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नपा-८ बस्ने वर्ष ४२ को रेशम रुम्बा।

४. धादिङ निलकण्ठ-१४ घर भई हाल गोकर्णेश्वर नपा-८ छाहारी क्लब बस्ने वर्ष ४३ को सागर तामाङ।

५. सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर ८ घर भई हाल गोकर्णेश्वर नपा–९ आरुबारी बस्ने वर्ष ५२ को पेम्बा लामा (चोरीको सामान किन्ने)।

६. मुस्ताङ लोमानथाङ गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका–६ धारा टोल बस्ने वर्ष ४१ को डिमा वाङदी गुरुङ (चोरीको सामान किन्ने)।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.