काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गरेका छन।
आज सेना दिवसकाे उपलक्ष्यमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले भनेका छन, 'ऐतिहासिक परिवेश र परिदृश्यको सूक्ष्म निगरानी तथा विश्लेषण गर्दै देशको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षाका लागि नेपाल र नेपालीपनको पहरेदारको रूपमा स्थापित भएको यस सङ्गठनले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका तथा योगदान सराहनीय छ ।'
कठिन परिस्थितिमा समेत नेपाल र नेपालीका हितमा पुर्याएको योगदानले सेनाको महत्व र सार्थकतालाई मुखरित गरेको उल्लेख गर्दै उनले विकास निर्माण, अन्तर्राष्ट्रिय शान्ति, पर्यावरण संरक्षण, विपद् व्यवस्थापन, निर्वाचन सुरक्षा, खेलकुदमा आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकताको प्रशंसा गरेका छन।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाका सकलदर्जालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन।
स्थापनाकालदेखि नै नेपाली सेनाले निष्ठा र इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्दै आएको बताउँदै उनले देशको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने सिलसिलामा जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि सेनाले प्रदर्शन गरेको अविचलित अनुशासन, निष्ठा र बलिदानका गाथाको स्मरण गरेका छन।
यसैबीच, सेनाले महाशिवरात्रि तथा सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सवका अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षार्थ योगदान पुर्याउने सबैमा शुभकामना व्यक्त गरेको छ ।
नेपाली सेनाले आज आफ्नो स्थापना दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सोही उपलक्ष्यमा काठमाडौँको टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यतामा महाशिवरात्रि बढाइँसहितको विशेष कार्यक्रम हुँदैछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।