काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने समय थप भएको छ ।
कम्पनीले माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका स्थानीय बासिन्दाका लागि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने समय थप गरेको हो ।
अब स्थानीयले कम्पनीकाे आइपीओमा फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० कित्ता सेयर निष्काशन गरेको छ।
सोमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका (वडा नं. १, २, ९ र १०), फक्ताङलुङ गाउँपालिका (वडा नं. १), भिक्वाखोला गाउँपालिका (वडा नं. १ र २), मेरिङदेन गाउँपालिका (वडा नं. २ र ३) आठराई त्रिवेणी गाउँपालिका (वडा नं. ५) र मैवाखोला गाउँपालिका (वडा नं. १)का बासिन्दाका लागि १३ लाख ३३ हजार कित्ता छुट्याइएको छ । बाँकी १९ लाख ९९ हजार ५०० कित्ताका लागि माथि उल्लेखित बाहेका ठाउँका बासिन्दाले आवेदन दिन पाउने छन् ।
लगानीकर्ता न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछ । स्थानीय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज अन्तिम दिन
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि माघ ४ गतेदेखि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने म्याद भने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि ४ करोड ९९ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४ लाख ९९ हजार ८७५ कित्ता साधारण सेयर निष्काशन गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले हाल ताप्लेजुङमा ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ र प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ अनुमान गरिएको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.३६ वर्ष रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमति २९ वर्ष ८ महिना बाँकी रहेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।