काठमाडौं । नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएलगत्तै उच्च अंकले बढ्न सुरु गरेको सेयर बजारमा कांग्रेसको इन्ट्रीसँगै सोही अनुरुपको गिरावट आएको छ।
कम्युनिष्ट नेतृत्वको सरकारमा यसअघि सेयर बजारमैत्री छवी बनाएका विष्णु पौडेल अर्थमन्त्री हुने हल्लासँगै उच्च रुपमा बढ्न थालेको नेप्से परिसुचक सरकारलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने हल्लासँगै घट्न थालेको हो ।
बजार खुलेदेखि लगातार उकालो लागेर ६३ अंकले बढेको नेप्से अन्त्यमा २१ अंकले घटेर बन्द भएको हो । आज नेप्सेमा झन्डै १०० अंकको उतरचढाव आएको छ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने ठूलो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब २० करोडले बढेर साढे ७ अर्ब नाघेको छ । यो एक वर्ष यताकै धेरै कारोबार हो ।
सोमबार नेप्से २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा आइपुगेको छ । यसदिन २५४ कम्पनीको ७ अर्ब ६५करोड रुपैयाँ बढीको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये बैंकिङ र म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.३१ प्रतिशतले बढेको छ ।
आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपि पावर २० करोड र रिडी पावर १८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा बाराही हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशतले कमाएका छन् ।
घट्दो बजारमा आज तारागाउँ होटलका सेयरधनीले सबैभन्दा धेरै ८.७४ प्रतिशतले घटेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।