add

तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : अध्यक्ष दाहाल






ActPro Nepal

|

६ पुष, २०७९

|
356

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरुपमा खुलाउन पहल भइरहेको बताएका छन्।

सिन्धुपाल्चोक क्षेत्र नं १ का निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा नेतृत्व टोलीको ज्ञापन पत्र बुझेपछि उनले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताए। टोलीले बुधवार तातोपानी नाका खुलाउन पहल गरिदिन अध्यक्ष दाहाललाई ज्ञापन पत्रसहित अनुरोध गरेको थियो ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै अध्यक्ष दाहालले तातोपानीका नेपाली व्यवसायी एवं नेपालको व्यापारिक दृष्टिबाट सो नाका महत्त्वपूर्ण रहेको स्पष्ट पारे।

चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै उनले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताए। चिनियाँ राजदूत हाउ यान्छीसँगको बिदाइ भेटमा पनि आफूले यसबारे कुराकानी गरेको र सकारात्मक जवाफ पाएको अध्यक्ष दाहालको भनाइ थियो ।

भूकम्पपछिको पुनःनिर्माण भइसकेको र ड्राइपोर्ट पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरो रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने टोलीलाई विश्वास दिलाए। अध्यक्ष दाहालले नयाँ राजदूत आएपछि दुवैतिर आवतजावत खुला हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभएको सांसद सापकोटाले जानकारी दिए।

जुरे पहिरो, भूकम्प वा अन्य सन्दर्भमा आफू सिन्धुपाल्चोकका जनतासँग जोडिएको चर्चा गर्दै अध्यक्ष दाहालले सिन्धुपाल्चोकका जनताको समस्यामा आफू अझ बढी संवेदनशील रहेको र समस्या समाधान गर्ने बताए।

ज्ञापन पत्र बुझाएपछि सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य सापकोटाले नेपाल–चीनबिचको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा सञ्चालन र अरनिको राजमार्गको  स्तरोन्नतिका लागि  अध्यक्षलाई ध्यानाकर्षण गराइएको जानकारी दिए। उनीसँगै ज्ञापन पत्र बुझाउन बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, अमृता  नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य  सङ्घ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका प्रतिनिधि अध्यक्ष दाहाल निवास खुमलटार पुगेका थिए।

निर्वाचनका बेला तातोपानी नाका पूर्णरुपमा दुईतर्फी खुलाउन आफूले उच्च नेतृत्वको ध्यानाकर्षण गराउने बताउनुभएका सापकोटाले यसको थालनी गरेका छन्।

यसैबिच निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका सञ्चालनका लागि आफ्नोतर्फबाट पहल जारी राख्ने बताएका छन्। आज भएको भेटमा प्रतिनिधि तथा प्रदेशसभाका सांसद र व्यापारीसँग उनले नाका खुलाउन आफ्नो पहल जारी रहने विश्वास दिलाएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.