काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले हराएका २२ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ ।
रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १६ वटा मोटरसाइकल र ६ ओटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यो आर्थिक वर्ष सुरु भए पश्चात सवारी साधन हराएको भनि ५९२ वटा निवेदन कार्यालयमा प्राप्त भएका थिए। प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २०४ वटा सवारी साधनमाथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो।
जसमध्ये साउन महिनामा ७३ ओटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा र केही दिन अगाडि ६ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइ सकेको छ। धनी नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ।
सवारी साधन जथाभावी पार्किङ नगर्न र पार्किङ गरिएका सवारी साधनमा पनि सुरक्षाका उपाय (डिक्स लक, ह्याण्डिल लक, सेक्युरिटी साइरन आदि) अपनाई सुरक्षित स्थानमा मात्रै पार्किङ गर्न सम्बन्धित सबैलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक भट्टले आग्रह गरे।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।