add

पहिलो चौमासिकमा आयकर र भ्याट संकलन लक्ष्यभन्दा न्यून






ActPro Nepal

|

११ मंसिर, २०७९

|
399

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) संकलन लक्ष्यभन्दा न्यून देखिएको छ।

आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार संकलन भएको देखिएको हो।

विभागका अनुसार आयकर पहिलो चौमासिक लक्ष्यको ८१ दशमलव नौ प्रतिशत बराबर संकलन भएको छ। कात्तिक मसान्तसम्ममा ४८ अर्ब ९१ करोड सात लाख ५८ हजार रुपैयाँ आयकर संकलन गर्ने सरकारी लक्ष्य छ। यो अवधिसम्मको वास्तविक आयकर संकलन भने ३८ अर्ब २९ करोड ६६ लाख ५३ हजार रुपैयाँ रहेको छ।

गत आव २०७८/७९ को पहिलो चौमासिकमा ४७ अर्ब २२ करोड ९० लाख ९६ हजार रुपैयाँ आयकर संकलन भएको थियो। पहिलो चौमासिकमा भ्याट असुली पनि लक्ष्यभन्दा न्यून छ। कात्तिक मसान्तसम्ममा ४१ अर्ब ९४ करोड ७६ लाख ६० हजार रुपैयाँ भ्याट संकलन गर्ने सरकारी लक्ष्य रहेकामा ३४ अर्ब ४७ करोड ८४ लाख १९ हजार रुपैयाँ बराबर मात्रै असुली भएको हो।

त्यो पहिलो चौमासिक लक्ष्यको ८२ दशमलव १९ प्रतिशत बराबर हो। यो अवधिमा अन्तःशुल्कतर्फको राजस्व लक्ष्य भने भेटिएको छ।चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३० अर्ब ६५ करोड ३८ लाख चार हजार रुपैयाँ अन्तःशुल्क संकलन गर्ने लक्ष्य राखिएकामा ३४ अर्ब ६० करोड ७२ लाख ४२ हजार रुपैयाँ असुली भएको हो।

सो असुली पहिलो चौमासिक लक्ष्यको एक सय १२ दशमलव ९२ प्रतिशत बराबर हो। त्यस्तै घरबहाल कर लक्ष्यको ६९ दशमलव ७४ प्रतिशत बराबर मात्रै उठेको छ। कात्तिक मसान्तसम्ममा एक अर्ब ६९ करोड १३ लाख रुपैयाँ घरबहाल कर उठाउने विभागको लक्ष्य छ। यो अवधिमा ६४ करोड ४२ लाख तीन हजार रुपैयाँ बराबर मात्रै उठेको हो।

शिक्षा सेवा कर पनि लक्ष्यभन्दा न्यून छ। यो अवधिसम्ममा ५३ करोड २३ लाख ५२ हजार रुपैयाँ शिक्षा कर उठाउने लक्ष्य रहेकामा ५० करोड ८६ लाख ९५ हजार रुपैयाँ मात्रै उठेको छ। स्वास्थ्य सेवा कर भने लक्ष्यभन्दा बढी उठेको छ।

पहिलो चौमासिकमा एक अर्ब ३६ करोड ११ लाख २० हजार रुपैयाँ बराबर स्वास्थ्य सेवा कर उठाउने लक्ष्य रहेकामा एक सय ८३ दशमलव १५ प्रतिशत अर्थात् दुई अर्ब ४९ करोड २९ लाख १६ हजार रुपैयाँ असुली भएको छ। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.