add

मंसिर २३ देखि २७ गतेसम्म १९ औं हस्तकला व्यापार मेला हुने






ActPro Nepal

|

९ मंसिर, २०७९

|
650

काठमाडौं । नेपाल हस्तकला महासंघले १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता यही आउँदो मंसिर २३ देखि आयोजना गर्ने भएको छ । 

मेला काठमाडौंको बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने महासंघले जनाएको छ  । महासंघको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न संघ, संगठनहरुको सहयोगमा हुन लागेको मेलामा हस्तकलाका वस्तुहरुको करिब १ सय ५० वटा स्टल रहने बताइएको हो ।

मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला)  र पौभा थांका गरी ३ वटा विधाका कला प्रदर्शनी हुने जनाइएको छ । महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपाली हस्तकलाको प्रवर्धन गर्दै विदेशसम्म पहिचान गराउनका लागि मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले मेलाले हस्तकलाका सामग्रीहरुको निर्यातलाई बढाउनका लागि सघाउ पुर्याउने बताउनुभयो ।

मेलामा हस्तकलाका वस्तुहरुको वृहत प्रदर्शनी तथा बिक्री हुनेछ । मेला संयोजक डिल्लीरत्न तुलाधरले मेलामा उत्कृष्ट स्टल प्रतियोगिता, मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन र परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी गरिने जानकारी दिनुभयो ।

त्यस्तै अमूर्त सांस्कृतिक सम्पदाको उजागर, जेष्ठ वरिष्ठ कलाकारहरुलाई सम्मान, अग्रणी निर्यातकर्ताहरुलाई सम्मान कला प्रदशर्नी र २०२३–२४ को ट्रेन्ड डिस्प्ले देखाइने उहाँले उल्लेख गर्नुभयो । मेलासँगै १७ औँ हस्तकला प्रतियोगितासमेत हुने भएको छ । काष्ठकला, प्रस्तरकला, मैनकला, मूर्तिकलामा मानव मुखाकृति भएको गरुड अर्थात बण्टेजको मूर्ति बनाउने र ऊनी, ढाका, कपडा, प्राकृतिक रेशाजन्य वस्तुबाट मफलर बनाउने प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.