भरतपुर । जबरजस्ती करणी गरी महिलाको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका–२ ठेगाना भई हाल भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दीप गुरुङ र सोही ठाउँ बस्ने विजय परियार पक्राउ परेका हुन्।
मंसिर ४ गते भरतपुर महानगरपालिका-२ दुर्गा मन्दिर पछाडिको हाटबजारमा अन्दाजी ६० वर्षीया महिलालाई बलात्कार गरी हत्या गरेको आरोपमा चितवन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
जबरजस्ती करणी पश्चात उनीहरुले महिलाको हत्या गरी शवलाई नजिकै रहेको ठूलो गुम्बाको कम्पाउन्डभित्र झाडीमा फालेको तथ्य फेला परेको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। ती महिलालाई बलात्कार गरेपछि ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए।
प्रहरीले स्थानीयसँग सोधपुछसँगै सीसीटीभी फुटेजको विश्लेषण र अनुसन्धानबाट हत्याराको पहिचान गरेको थियो भने पक्राउपछि उनीहरुले करणी पश्चात हत्या गरेको समेत स्वीकार गरिसकेका प्रवक्ता पण्डितले बताए। यस्तै हत्या आरोपितले प्रयोग गरेको कन्डम र हत्या गर्न प्रयोग गरिएको ढुंगासमेत निजहरुले देखाएको स्थानबाट बरामद गरिएको छ।
पक्राउ परेका ती दुई जनामाथि प्रारम्भिक अनुसन्धान सकेर जिल्ला अदालत चितवनबाट म्याद थपको अनुमति लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।