add

को हुन् नुवाकोट १ मा माओवादीका उम्मेदवार बनेका हितबहादुर तामाङ ?






ActPro Nepal

|

३ कार्तिक, २०७९

|
686

काठमाडौं । हितबहादुर तामाङ नुवाकोटमा मात्र नभएर राष्ट्रिय राजनीतिमै परिचित नाम हो । जनताको मुक्तिका लागि वर्गसंघर्षको भट्टीमा खारिएका उनी सदैव जनताको सुखदुःखमा साथैमा रहे ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घलेगाउँ (साविक पञ्चकन्या गाविस १ नम्बर वडा) मा मध्यम वर्गीय किसान परिवारमा २०२० सालमा जन्मिएका हुन् हितबहादुर तामाङ । बुबा माइते तामाङ र आमा श्रीमाया तामाङको माइलो सन्तानका रूपमा उनको जन्म भएको हो । तामाङका एक दाइ एक भाइ र तीन दिदीबहिनी छन् ।

दुई छोरी र एक छोराका पिता हितबहादुर हाल काठमाडौंको चण्डोलको डेरामा सपरिवार बस्दै आएका छन् । दाजुभाइ सामान्य किसानी कर्ममा रहे हितबहादुर भने वर्गीय उत्पीडन परिवर्तनका लागि वर्गसंघर्षमा होमिए ।

हितबहादुरले नुवाकोटकै अमर ज्योति उच्च माध्यमिक विद्यालय खरानीटारमा औपचारिक शिक्षा सुरुवात गरेर सोही विद्यालयबाट २०३९ सालमा एसएलसी उत्तीर्ण गरे । २०४० सालमा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष शिक्षण गरे ।

राजनीतिक पृष्ठभूमि

हितबहादुर १६ वर्षको कलिलो उमेरमै २०३६ सालमा मार्क्सवाद, लेनिनवाद तथा माओवादको दर्शनबाट प्रभावित भइ कम्युनिष्ट राजनीतिमा लागेका हुन् । २०३६ सालमा अनेरास्ववियुको छैटौँ जिल्ला सम्मेलनबाट सदस्य बनेका उनी २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव भए । भ्रातृ संगठनमा सक्रिय रहँदै गर्दा उनले २०४७ सालमा नेकपा चौथो महाधिवेशन पार्टीको सदस्यता लिए । २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष तथा २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य बने ।

२०४९ सालमा राष्ट्रिय सम्मेलनबाट डा. बाबुराम भट्टराईको अध्यक्षतामा गठित संयुक्त जनमोर्चाको केन्द्रीय समिति सदस्य बनेका उनि २०५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी) बने।

२०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि तामाङ जनयुद्धमा सहभागी हुँदै भूमिगत भए । भूमिगतकालमा २०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गरे । २०५८ सालमा नुवाकोट जिल्लाको जनसरकार प्रमुख,  २०५९ सालमा बाबुरामको नेतृत्वमा गठित केन्द्रीय जनपरिषद्को सदस्य र २०६० साल माघ १ गते ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख बने ।

खुला राजनीतिमा होस् वा युद्धकालीन कठिन दिनमा तामाङ नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल रहे । उनको नेतृत्वदायी क्षमताको मूल्यांकन गर्दै २०५९ सालमा पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दियो ।

तामाङ वर्गमुक्तिको आन्दोलनमा होमिँदा भारतमै जेल जीवन बिताउन बाध्य भए । २०६० साल जेठमा देशद्रोहीको अभियोगमा भारतीय सरकारले उनलाई गिरफ्तार गरी पटनास्थित जेलमा राख्यो । तर, पनि तामाङ झुकेनन् । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २५ महिनाको जेल जीवनबाट उनी ।

आफ्नो समुदायमा पछाडि परेकाहरूलाई प्रेरणा बन्ने गरेका तामाङ चेतना, शिक्षा, समानता, विकासका कुरा आमनागरिकलाई बुझाएर सिकाएर समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यतामा अडिग छन् । उनी जातीय वा अन्य कारण पछाडि पारिएका वर्गलाई उत्थान गर्नका लागि लाग्नुपर्छ भन्ने कुरामा सचेत थिए ।

पछि माओवादीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापकसमेत बने । उनी नुवाकोटमा वामपन्थी आन्दोलनका अगुवा हुनुका साथै वर्गीय र जातीय आन्दोलनका अथक योद्धा थिए ।

आफ्नै क्षमता र संघर्षमा समाज र राजनीतिलाई सँगसँगै डोरोर्‍याएका तामाङ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बने ।

जनयुद्धकै मूल एजेन्डा संविधानसभाबाट संविधान निर्माणको लागि २०६४ सालमा देशमा पहिलो संविधानसभा निर्वाचन भएको थियो । उनी आफ्नै जिल्लाको क्षेत्र नम्बर २ को उम्मेदवार बने । पार्टी युद्धबाट भर्खर उदाउँदै गरेको । देशभर माओवादी उम्मेदवारको जितको लहर आयो । कांग्रेसको बलियो पकड भएको उनको क्षेत्रमा उनले जित हासिल गर्न सकेनन् तर नेपाली कांग्रेसका उम्मेदवार रामशरण महतसँग कडा प्रतिष्पर्धा भयो । तामाङ झिनो मतले पराजित भए ।

हितबहादुर हारमा आत्तिने जितमा जोसिने मान्छे थिएनन् । उनी हरेक समयलाई आफ्नै गतिमा जान दिनुपर्छ, धैर्यता नै मानिसको जितको असल हतियार हुनसक्छ भन्ने मान्यता राख्छन् । पहिलो संविधानसभाले संविधान जारी गर्न नसक्ने लगभग निश्चित जस्तै भएपछि पार्टीले जनपरिषद् गठन गर्‍यो । पार्टीले सबै प्रदेशस्तरमा प्रदेश ताम्सालिङ स्वायत्त जनपरिषद् गठन गर्‍यो हितबहादुर त्यसको प्रमुख बने ।

पहिलो संविधानसभाबाट प्रतिक्रियावादीहरूले जनताको संविधान बनाउन नदिएपछि २०७० मा दोस्रो संविधानसभाको चुनाव भयो । हितबहादुर दोस्रो पटक मैदानमा उत्रिए । तर पनि उनले सफलता हात पार्न सकेनन् ।

दोस्रो संविधानसभाबाट २०७२ सालमा नेकपा (माओवादी केन्द्र) को पहलमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो । नयाँ संविधानअनुसार २०७४ मा भएको आमनिर्वाचनमा हितबहादुर तेस्रोपटक प्रतिनिधिसभाको उम्मेदवार बने । त्यस समयमा माओवादी र एमाले गठबन्धन एकातिर, कांग्रेसलगायत दल अर्कोतिर थिए । तामाङ वाम-गठबन्धनका साझा उम्मेदवारका रूपमा नुवाकोट क्षेत्र नं १ बाट कांग्रेसका प्रभावशाली नेता रामशरण महतलाई ८ हजार ८५७ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।


यसरी ४३ वर्षदेखि वामपन्थी राजनीतिमा सक्रिय तामाङ २०६६ मा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा खेलकुदमन्त्री समेत बने । अहिले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ मा तामाङ वाम-लोकतान्त्रिक गठबन्धनबाट नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा साझा उम्मेदवार बनेका छन् ।  पार्टीबाट निर्विरोध उम्मेदवार सिफारिस भइ कांग्रेस-माओवादी-एकीकृत समाजवादीको साझा उम्मेदवार बनेका तामाङ पार्टीभित्र इमान्दार, कुशल संगठक र सालिन नेताका रूपमा परिचित छन् ।

आफ्नो क्षेत्रमा आम नागरिक/मतदातासँग सहज पहुँच राख्ने र सरल शैलीका तामाङ स्पष्ट वक्ता हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.