काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले जोशीको निधनबाट स्तब्ध भएको बताउँदै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
प्रचण्डले जोशीको क्रियाशीलता मानव समुदायलाई उत्प्रेरणाको स्रोत बन्ने समेत बताएका छन् । ‘१०३ वर्षको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरका मानव समुदायलाई उत्प्रेरणाको श्रोत बनेर रहने छ,’ प्रचण्डले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न जोशीको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहने पनि प्रचण्डले बताएका छन् । उनले सरकार र नेपाली जनताले जोशीको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने विश्वास व्यक्त गरेका छन् ।
ललितपुरको किस्ट अस्पतालमा उपचाररत जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।