काठमाडौं । तारागाउँ रिजेन्सी होटलको खुद नाफामा उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष साढे ३ करोड घाटामा रहेको कम्पनी गत वर्षमा झन्डै १९ करोड नाफा कमाउन सफल भएको छ ।
कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको संचालन आम्दानी र कुल आम्दानी बढेसँगै खुद नाफामा उल्लेख्य बढोत्तरी आएको हो । कोरोना प्रभाव कम भएसँगै पर्यटकीय गतिविधि बढ्दा होटलको नाफामा ठूलो सुधार आएको हो ।
समीक्षा अवधिमा होटलको कुल आम्दानी तेब्बरले बढेर २७ करोड १४ लाख रुपैयाँबाट बढेर ८५ करोड रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा होटलको संचालन आम्दानी ५ गुणाले बढेर ७० करोड रुपैयाँ पुगेको छ ।
हाल १ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको तारागाउँको रिजर्भ कोषमा ४४ करोड १६ लाख रुपैयाँ संचित छ ।
नाफामा उल्लेख्य सुधार आएसँगै होटलको प्रतिसेयर आम्दानी भने ऋणात्मक नै रहेको छ । अघिल्लो वर्ष ४.१९ रुपैयाँ ऋणात्मक रहेको होटलको प्रतिसेयर आम्दानी असार मसान्तसम्म आइपुग्दा २.४१ रुपैयाँ ऋणात्मक छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.६४ रुपैयाँ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।