काठमाडौं । स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबन्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक कुनै निर्णय नगरी स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठक साँझ पुनः बस्ने गरी सकिएको हो।
गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल गरिरहेका छन्।
आजको बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनबीच भागबन्डा गर्ने विषयमा छलफल भएको छ। तीन घन्टा सम्म चलेको छलफलमा सहमति जुट्न नसकेपछि बैठक केहीबेरका लागि स्थगित गरिएको हो।
महानगरका सम्बन्धमा एकिकृत समाजवादीले अडान कायम राखेपछि सहमति हुन नसकेको हो। एकिकृत समाजवादी पोखरा महानगरपालिका आफूले पाउनुपर्ने अडानमा छ। कांग्रेस भने पोखरा महानगर एकिकृत समाजवादीलाई नदिने पक्षमा देखिएको काठमाडौं ।छ। त्यस्तै भरतपुरमा पनि सहमति जुटिसकेको छैन। माओवादीले रेनु दाहाललाई नै निरन्तरता दिने बताइरहँदा भरपुर कांग्रेसमा भने चर्को विरोध उत्पन्न भएको छ। यसबारे केन्द्रबाट सहमति गर्ने भनिएपनि सहमति हुन सकेको छैन।
समाजवादीले वीरगञ्ज महानगरमा आफ्नो दाबी प्रस्तुत गरेको छ। यस हिसाबमा काठमाडौं, ललितपुर र विराटनगर मात्रै कांग्रेसले पाउने गरी छलफल भएको छ। बैठक स्थगित भएपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। १ बजेका लागि तय भएको पत्रकार सम्मेलनका लागि प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन्।
पत्रकार सम्मेलन सकिएपछि प्रचण्ड पुनः बालुवाटारको छलफलमा सहभागी हुनेछन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।