काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले लगानीको सुरक्षा गर्ने बताएका छन्।
नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्दै उनले कुनै पनि व्यवसायलाई प्रोत्साहन, सम्बर्द्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए । ‘नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्छ’, उनले भने ।
गृहमन्त्री खाँणले सडक दुर्घटनाका कारण बर्सेनि हजारौँ नागरिकले अकालमा ज्यान गुमाएको भन्दै सडक दुर्घटना न्यूनीकरणमा यातायात क्षेत्र गम्भीर हुनुपर्ने बताए । सुरक्षित यात्राको व्यवस्था कसरी गर्न सकिन्छ त्यसतर्फ यातायात क्षेत्र लाग्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री खाँणले यात्रुलाई सुरक्षितरूपमा गन्तव्यस्थलसम्म पुर्याउने जिम्मा यातायात क्षेत्रको भएको बताउँदै यातायात क्षेत्रलाई परेको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गरे । उनले राम्रो कन्डिसन भएका सवारी साधनलाई मर्मत गरेर सञ्चालन गर्नसके देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यातायात क्षेत्रको सुधारका लागि आवश्यक पर्ने ऐन, नियम, कानून संसद् चल्न नसकेकाले परिवर्तन गर्न नसकेको उल्लेख गर्दै उनले आगामी दिनमा समयानुकूल परिवर्तन गर्दै लैजाने बताए ।
गण्डकी प्रदेशका यातायातमन्त्री कुमार खड्काले मुलुकको विकासको मुख्य आधार सडक सञ्जाल र यातायात भएको भन्दै एयसलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । यातायात क्षेत्रको समस्या राज्यले बुझ्नुपर्ने उनको भनाइ थियो ।
बागमती प्रदेशका यातायातमन्त्री घनश्याम दाहालले यातायात क्षेत्रको समस्या समाधानका लागि व्यवसाय र सरकार बसेर समाधान गर्नुपर्ने बताए । उनले बागमती प्रदेशको यातायात कार्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै चार महिनाभित्र सवारी लाइसेन्स प्राप्त गर्नेगरी मन्त्रालयले कामलाई अगाडि बढाएको बताए। उनले उपत्यकामा सञ्चालित ट्याक्सी मिटरमा हिँड्न नमाने कारबाही गर्ने बताए ।
प्रदेश नं १ का यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सबै मिलेर यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए । यातायात क्षेत्रमा पार्किङको समस्या यथावत रहेको उनको भनाइ थियो ।
आइतबार उद्घाटन भएको छैटौँ महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महासङ्घको भोलि ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा बन्दसत्र र पर्सि निर्वाचनको कार्यक्रम रहेको महासचिव एवं प्रवक्ता सरोज सिटौलाले जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।