काठमाडौं । नेपाल प्रिमीयर लिग (एनपीएल) क्रिकेटको उपाधी जनकपूर बोट्लर्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपूरले एनपीएलको उपाधी उचालेको हो ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा १८४ रन बनाएर जनकपूरलाई १८५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङका क्रममा जनकपूरले १९.२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुरले एनपीएलको पहिलो संस्करणको उपाधी उचालेको हो ।
जनकपूरको जितमा लाहिरु मिलान्थाले ८७ रन बनाए । ४९ बल खेलेका उनले ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाएका हुन् ।
पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए । आसिफले सातौँ ओभरको अन्तिम बलमा आउट हुनुअघि १९ बलमा ४ चौका र २ छक्का हिर्काउँदै ३३ रन बनाए ।
हर्शक थाकरले २४ बल खेल्दै २ छक्कासहित अविजित ३० रन जोडे । मोहम्मद मोहसिनले ९ रन बनाए भने जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । विजयी रन प्रहार गरेका मयन यादव २ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइन, कप्तान दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब र इशान पाण्डेले समान १/१ विकेट लिए ।
जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कार र ट्रफी हात पारेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।