नेपालगञ्ज । बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् ।
प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवी लगायत सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिले सर्वपक्षीय भेला गरी प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमै स्थापना हुनुपर्नेमा जोड दिएका हुन् ।
भेलाले विश्वविद्यालय बाँकेको खजुरामै स्थापनाको लागि दबाब दिन प्रदेश सभासदस्य आरती पौडेलेको संयोजकत्वमा संघर्ष समिति निर्माण गरेको छ । बाँके र बर्दियाका प्रदेश सभासदस्य, जिल्ला समन्वय समितिका संयोजक, जिल्लाका सबै पालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्ष, पेसागत संघसंगठन छाता संगठनका अध्यक्ष सम्मिलित समिति निर्माण गरिएको हो ।
विश्वविद्यालयका लागि १ सय बिघा जमिन कानुनीरुपमै उपलब्ध गराएर प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेटमार्फत खजुरामा लुम्बिनी प्रदेश स्तरीय विश्वविद्यालय स्थापना गर्ने घोषणा भएको थियो ।
यसका लागि खजुरा गाउँपालिकाले खजुरा गाउँपालिका-८ रनियापुरमा १ सय बिघा जमिन नापी गराई प्रदेश विश्वविद्यालयका लागि उपलब्ध गराउनुका साथै गाउँसभा र जिल्ला सभाबाट समेत पारित गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पूर्ण कागजात उपलब्ध गराएको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
उनका अनुसार प्रदेश विश्वविद्यालयको लुम्बिनी सरकारले रातो किताब (राजपत्रमा) प्रकाशित गरिसकेको छ । विश्वविद्यालयका लागि खजुराले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेरै अगाडि बढाइएको भएपनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्ने कुराले जिल्लावासी चिन्तित भएका छन् ।
विश्वविद्यालयका लागि खजुराले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेरै अगाडि बढाइएको भएपनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्न नहुने जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।