add

खानेपानी महसुल निर्धारण आयोग गठन गरिँदै






ActPro Nepal

|

१६ माघ, २०७८

|
713

काठमाडौं । सरकारले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको छ। आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाइएको बताएका हुन्।

आयोग गठन पछि समय सापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महशुल दर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताए। त्यस्तै राज्यको ठूलो लगानी भइसकेका र अलपत्र परेका आयोजनालाई पूर्णता दिन नीतिगत सुधारका लागि प्रकृया अगाडि बढाइएको पनि मन्त्री चौधरीको भनाइ छ।

'खानेपानीका स्रोतहरुका संरक्षण अभियान संचालन गर्न एकीकृत जलश्रोत संरक्षण व्यवस्थापन गर्न विशेष कार्यक्रम ल्याइनेछ,' मन्त्री चौधरीले भने, 'दिगो विकासको लक्ष्य २०३० हासिल गर्न गुणस्तरीय खानेपानी वितरणको लागि पानीको परिक्षणलाई व्यापकता दिइने र प्रशोधनयुक्त ढल प्रणालीको लागि यसै वर्षबाट विशेष कार्यक्रम सञ्चालनमा ल्याइनेछ। सरकारले घोषणा गर्दै आएको खुला दिशामुक्त क्षेत्रको दिगोपनको लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्य गरी विशेष कार्यक्रम पनि ल्याउने तयारी छ।'

मन्त्री चौधरीले हाल अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पुरा गरी ठेक्का सम्झौता गरिसकिएको बताए।

त्यसैगरी, एसियाली विकास बैंक(एडीवी) ले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायको लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको र  प्रतिवेदन प्राप्त भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने उनको भनाइ छ।

मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई चुस्त र दूरुस्त गर्न मेलम्ची सब प्रोजेक्ट २ अन्तरगत हालै मात्र १०० किलोमिटरको सर्ट रन टेस्ट सम्पन्न भएको र हालसम्म जम्मा ३५० किलोमिटरको सर्ट रन टेस्ट पुरा भई पानी सञ्चालनको लागि तयारी पुरा भएको उनले स्पष्ट पारे।

मन्त्री चौधरीले तराई मधेशका जिल्लाका विपन्न घरधुरीमा खानेपानीको व्यवस्थापनका लागि तराई मधेश ट्युवेल तथा स्वच्छता विशेष कार्यक्रम सञ्चालनमा ल्याइएको बताए। खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तरगत विभिन्न आयोजनाका १५ योजनाहरुको खरिद प्रक्रिया सम्पन्न भई निर्माण चरणमा रहेको पनि उनको भनाइ छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.