काठमाडौं । नेकपा (एमाले) स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् ।
आज झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताए ।
“वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न मिल्दैन । यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो । संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ ।”
चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उनको आरोप थियो ।
स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उहाँको धारणा छ । ’अर्ली इलेक्सन’ वा तीनवटै तहको सरकारको चुनाव एकैपटक गर्ने भन्ने कुरा चुनाव नगर्ने योजना भएको एमाले नेता खरेलको आरोप छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।