add

समाज रुपान्तरणमा नेपाल स्काउटकाे भूमिका महत्वपूर्ण छः राष्ट्रपति भण्डारी






ActPro Nepal

|

२२ पुष, २०७८

|
583

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र, ककनीमा बि.टी.सी, पी.टी.सी तालिम सम्पन्न गरेका सुदुरपश्चिम प्रदेशका स्काउट मास्टरहरुलाई भेट दिएकी छन्। भेटघाटका अवसरमा राष्ट्रपतिले दीक्षित स्काउट मास्टरहरुलाई बधाईसमेत दिइन्।   

भेटघाट समारोहमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारी, सदस्यहरु बिजेन्द्र ध्वजु, शिवबहादुर भण्डारी, नेपाल स्काउट सुदुरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापा, नेपाल स्काउट एवम् विश्व स्काउटका कन्सल्ट्याण्ट देवराज घिमिरे, WAGGGS Global Programmes Manager प्रेरणा शाक्य एवम् नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

राष्ट्रपतिलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउटको स्कार्फ प्रदान गरेका थिए। समारोहमा राष्ट्रिपतिले नेपाल स्काउट बार्षिक प्रतिवेदन (२०२०–२०२१) को विमोचन गरेकी थिइन्।

उक्त समारोहमा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले विश्व स्काउटको मूल्य, मान्यता एवं आदर्शलाई आत्मसात गर्दै देशभरका १३ हजार सामुदायिक विद्यालयहरुमा स्काउट शिक्षा पुर्याउँदै देशका दूर दराजबाट विकृति, विसंगती हटाउने अभियानलाई तीव्रता दिन नेपाल स्काउट लागि परेको बताए।

नेपाल स्काउट कर्णाली प्रदेश संयोजक नरेन्द्र थापाले आर्थिक एवम् प्राकृतिकरुपमा पिछडिएको क्षेत्र सुदुरपश्चिमबाट छाउपडी प्रथा लगायतका सामाजिक कुरिती एवम् कुसंस्कारहरु उन्मुलनका लागि प्रशिक्षित स्काउट माष्टरहरु लाग्ने र सुदुरपश्चिमलाई एउटा असल स्काउट क्षेत्रको रुपमा उभ्याउँदै नमूना स्काउट क्षेत्रको रुपमा बिकास गर्ने प्रतिवद्वता ब्यक्त गरे।

पुरुष सहभागीहरुका तर्फबाट जयबहादुर कार्की (बाजुरा) ले राष्ट्रपतिलाई भेट्न पाउँदा आफूहरु अत्यन्त खुशी भएको बताए । महिला सहभागीहरुका तर्फबाट सुमित्रा कुँवर (दार्चुला) ले राष्ट्रपति समक्ष आफ्ना प्रदेशका समस्याहरु राखेकी थिइन् । आर्थिक, प्राकृतिक एवम् सामाजिक रुपमा पिछडिएको सुदुर पश्चिममा महिलाहरुका समस्या बढी भएको र ती समस्या समाधानतर्फ राष्ट्रपतिको ध्यान आकृष्ट गरेकी थिइन्। साथै, देशको राष्ट्राध्यक्ष महिला नै भएको वर्तमान अवस्थामा महिला केन्द्रित समस्याहरु समाधान हुने कुरामा आफूहरु बढी नै आशावादी भएको बताइन्।

सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपतिले समाज रुपान्तरणमा स्वयंसेवी संस्थाहरुको ठूलो भूमिका रहेको हुन्छ, स्काउट अनुशासन, नैतिकता एवम् आदर्शको पर्याय भएको हुँदा दीक्षित स्काउट माष्टरहरुले आफूले सिकेका ज्ञान, सीप बालबालिकाहरु माझ बाँड्दै समृद्ध समाज निर्माणमा लाग्नु पर्ने बताइन्। राष्ट्रपतिले महिलाहरुको उत्थान एवम् सशक्तिकरणमा नै समग्र राष्ट्रको उत्थान निर्भर रहने हुँदा महिला उत्थान एवम् सशक्तिकरणका लागि आफूले सक्दो प्रयास गरिरहेको तथ्य सहभागीहरुलाई बताइन्।  

पुरुष तर्फ १८१ र महिला तर्फ ७७ गरी कूल २५८ जनाले बि.टी.सी, पी.टी.सी तालिम प्राप्त गरेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.