add

सन् २०२२ मा पनि कोरोना महामारीसँग लडिरहन्छौं : विज्ञ






ActPro Nepal

|

१३ पुष, २०७८

|
616

काठमाडौं । डिसेम्बर २०१९ मा चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरस पुष्टि भयो । ११ मार्च २०२० मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई ग्लोबल पेन्डामिक घोषणा गर्यो ।

२०२१ को अन्त्यतिर छौं । दुई वर्षको अवधिमा विश्वभर २८ करोडभन्दा बढी व्यक्तिहरु कोभिड-१९ संक्रमित भएका छन् । यस महामारीको चपेटमा परेर करिब ५४ लाखभन्दा बढी मानिसको निधन भएको छ ।


अंग्रेजी नयाँ वर्ष २०२२ नजिकिँदैछ । नयाँ वर्ष नजिक आइरहेको भएपनि कोरोना भाइरसले स्वरुप परिवर्तन गरेर संक्रमित बनाउन सक्ने जोखिम कायम नै छ । २०२२ मा कोरोना महामारीको अवस्था कस्तो होला ? आउने दिनहरुमा भाइरसले दैनिकीमा कस्तो असर गर्नेछ ? यस्ता यावत् प्रश्नहरुको उत्तर रहस्यमय नै छ । 

पहिलो पटक चीनको वुहानमा पुष्टि भएको कोरोना भाइरस समयसँगै म्युटेसन भइरहेको छ । भाइरस म्युटेसन भएर हालसम्म यसका धेरै भेरियन्टहरु पुष्टि भइसकेका छन् । डब्लुएचओको लिस्टमा हाल पाँचवटा भेरियन्ट अफ कन्सर्न छन् । जसमा अल्फा, बिटा, गामा, डेल्टा र ओमिक्रोन रहेका छन् । हाल विश्वभर पुष्टि भइरहेको ओमिक्रोनमा ५५ म्युटेसन भएको पाइएको छ । जसमध्ये ३२ वटा म्युटेसन यसको स्पाइक प्रोटिनमा भएको छ ।  


क्यामब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ता बेन कृष्णाकाअनुसार ‘ओमिक्रोन’ कोरोना भाइरसको अन्तिम भेरियन्ट होइन । त्यसैगरि डब्लुएचओकी कोभिड–१९ टेक्निकल लीड डा. मारिया वेनकाअनुसार हामीहरु अझैपनि महामारीबीच उभिएका छौं । उनीहरुको भनाइको आशय हो, २०२२ मा पनि हामीहरुले कोभिड–१९ महामारीसँग सामना गरिरहने छौं । 

कोरोनाविरुद्धको बुस्टर डोज आवश्यक

इजराइलले एकवर्ष भित्रमा आफ्ना सबै नागरिकलाई कोरोनाविरुद्धको चौथो डोज दिने तयारी गरिरहेको छ ।

छिमेकी राष्ट्र भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले वृद्धवृद्धा र फ्रन्टलाइन वर्कर्सलाई कोरोनाविरुद्धको बुस्टर डोज दिने घोषणा गरेका छन् । डब्लुएचओले बुस्टर डोजको आलोचना गर्दै गरिब देश कोरोनाविरुद्ध खोपबाट बञ्चित हुने र महामारी समयाअवधि बढ्दै जाने बताएको छ । 

कोरोनाविरुद्धको खोप बनाउने कम्पनि सीरम इन्स्टीट्युट अफ इन्डियाका सिईयो अदार पुनावालाकाअनुसार आगामी दश वर्षसम्म हरेक वर्षमा कोरोनाविरुद्धको १ वा २ बुस्टर डोज आवश्यक पर्नेछ । २०२२ मा कोरोनाविरुद्धको बुस्टर डोज तितोसत्यका रुपमा अगाडि आउनेछ । यससँगै भाइरसविरुद्धको बुस्टर डोज प्रत्येक वर्ष आवश्यक पर्ने उनले जनाएका छन् । 

खोपकार्ड सुरक्षित राख्न आवश्यक 

कोरोना महामारीबाट बचाउने एकमात्र अस्त्र कोरोनाविरुद्धको खोप विश्वका सबै राष्ट्रले लगाउन थालेका छन् । केही राष्ट्रहरुमा सबै वयस्क नागरिकलाई खोप अनिवार्य गरिएको छ । 

अष्ट्रिया, जर्मनी, इन्डोनेशिया, माइक्रोनेशिया, ताजिकिस्तान र तुर्कमेनिस्तानमा खोप अनिवार्य गरिएको छ । त्यसैगरि क्यानडा, इटाली, डेनमार्क, अमेरिका, हंगेरी, फिजी, रुस, साउदी अरब, टर्की, युक्रेन र अमेरिकाजस्ता देशहरुमा सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदरलाई मध्यनजर गर्दै विभिन्न राष्ट्रहरुले कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिलाई सार्वजनिक स्थानमा आउजाउमा रोक लगाएका छन् । भारतमा पनि सपिङ मल, सिनेमा हल, अस्पताल र अन्य सार्वजनिक स्थानमा जानको लागि कोरोनाविरुद्ध खोप लगाएको कार्ड माग गरिएको छ ।

यसैगरि भारतको इन्दौर राज्यमा कतिपय व्यक्तिहरुले मोबाइलको कभरमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाण प्रिन्ट गरेर राखेका छन् । यस्ता कार्यहरुले कोरोनाविरुद्धको खोपकार्ड २०२२ मा अत्यावश्यक प्रमाणका रुपमा रहने देखिन्छ ।   

जनस्वास्थ्यका मापदण्ड आवश्यक

वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरस होस् वा हाल पुष्टि भइरहेको ओमिक्रोन, यसबाट बच्ने एकमात्र उपाय हो जनस्वास्थ्यका मापदण्ड ।

डब्लुएचओले नियमित मास्कको प्रयोग, सामाजिक दुरी र बन्द कोठामा भेन्टिलेसन भएको खण्डमा भाइरस संक्रमणबाट बच्न सकिने जनाएको छ । २०२२ मा पनि विद्यालय वा क्याम्पस, कार्यलय, स्टेडियम, बजार वा मल, पार्क वा पार्टीमा मास्क अनिवार्य र सामाजिक दुरी कायम गर्न अत्यावश्यक छ । 

पोष्ट कोभिडको जोखिम

कोरोनाकालको दुई वर्षमा नसोचेको परिवर्तन देखियो । बितेका दुई वर्षमा सबैको दैनिकी पूर्ण रुपमा परिवर्तन भयो । जसको साइड इफेक्ट देखियो ।

लगातार मोबाइल वा ल्यापटपको स्क्रिन हेर्दा विश्वभर आँखा सुख्खा हुने समस्या बढिरहेको छ । निरन्तर स्वास्थ्य परीक्षण नगर्दा दाँतको समस्या पनि बढ्दै गएको देखिन्छ । यसबाहेक तनाव, कपाल झर्ने र चिडचिडापन बढ्दै गएको छ ।

यसैगरि फर्टिलिटी एन्ड स्टर्लिटी जर्नलमा प्रकाशित भएको एक अध्ययनकाअनुसार कोरोना भाइरसले पुरुषको शुक्रकिटमा पनि असर पुर्याउन सक्छ । २०२२ मा पनि यस्ता समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।   

कोरोना पेन्डामिकबाट कहिले मुक्ति मिल्छ ? 

ब्रिटिस साइन्टिफिक जर्नल नेचरले विश्वभरका एकसय इम्युनोलोजिस्ट, भाइरोलोजिस्ट र रिसर्चरमा सर्वे गरेको छ । जसमा ९० प्रतिशतले कोभिड–१९ नियन्त्रणमा आउने जनाएका छन् ।

यसैगरि सन् २०२४ यता कोभिड-१९ बाट मुक्ति नमिल्ने फाइजरका वैज्ञानिकको अनुमान छ । महामारीका प्रोफेसर डा. तिमोथी ब्रीवरकाअनुसार कोरोना महामारीलाई नियन्त्रण गर्न अझै धेरै समय लाग्नेछ ।

विश्वमा हालसम्म एकमात्र संक्रामक रोगलाई समाप्त गरिएको छ । जुन स्मलपक्स हो, यसलाई १९७७ तिर विश्वव्यापी रुपमा समाप्त गरिएको थियो । डब्लुएचओले १९८० मा यस रोगलाई विश्वव्यापी उन्मूलन भएको प्रमाणित गर्यो । एजेन्सीको सहयोगमा 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.