add

कांग्रेस महाधिवेशन: पदाधिकारीकाे मतगणना आजबाट हुँदै






ActPro Nepal

|

२९ मंसिर, २०७८

|
1155

काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना आज बुधबारबाट सुरु हुने भएको छ।

कांग्रेस निर्वाचन समिति प्रमुख गोपालकृष्ण घिमिरेले आज साँझबाट मतगणना हुने जानकारी दिए। ‘छिटो एकदम छिटो अहोरात्र खटेर मतपरिणाम सार्वजनिक हुनेछ,’ उनले भने ।

पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो।

सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्। पहिलो चरणको निर्वाचनमा पाँच जनामध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो।

सभापतिको मतपरिणाम सार्वजनिक भएसँगै निर्वाचन समितिलाई अन्य पदाधिकारीको मतगणनाको बाटो खुलेको हो।

१४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि चुनाव भएको थियाे। कांग्रेस महाधिवेशन गत शुक्रबारबाट सुरु भएकाे हाे।

 काे हुन् कांग्रेसकाे नेतृत्व दाेस्राेपटक पाउने शेरबहादुर देउवा?

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले २ पटक कांग्रेसकाे नेतृत्व गर्ने सभापतिमा आफ्नाे नाम अटाएका छन्। उनले जारी चाैधाैं महाधिवेशनबाट प्रतिश्पर्धी शेखर काेइरालालाई फराकिलाे मतान्तरबाट हराउँदै पुनः सभापति बन्न सफल भएका हुन्। 

कुल खसेको चार हजार ६२३ मतमा सभापतिमा निर्वाचित देउवाले २७३३ मत प्राप्त गरेका छन् ।त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन् । उनी ८७८ मत अन्तरले पराजित भएका हुन् । २५ मत बदर भएको छ।

यस अघि गत असार २९ गते मुलुककाे पाँचौँपटक प्रधानमन्त्री नियुक्त भएका उनले दाेस्राे पटक कांग्रेसकाे सभापति बन्न २ पटक चुनाव गर्नु परेकाे थियाे । 

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो। उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन्।

खासगरी २०१७ सालको राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन्। प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन्। 

२०४८, २०५१, २०५६ र २०७४ सालका संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए। २०४८ सालमा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी हालसम्म पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए। त्यसपछि उनी २०५८ साल साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएका थिए। 

सोही वर्ष असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए। प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने पनि राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई ‘असक्षम’ भन्दै २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए।

प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सिमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएका थिए। त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन्।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक)का उनी सभापति बनेका थिए । पछि २०६४ सालमा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी कांग्रेसको वरिष्ठ नेता भएका थिए। 

त्यसपछि २०७२ साल फागुन २४ मा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनमा उनी तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए। सभापति एवं संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसदको बैठकबाट २०७४ साल जेठ २३ गते चौथो प्रधानमन्त्री निर्वाचित भएका थिए। 

संविधान कार्यान्वयनका लागि उनकै नेतृत्वमा २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमध्ये प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले पराजय बेहोरेपछि उनले २०७४ साल फागुन ३ गते पदबाट राजीनामा दिएका थिए। सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष उनी सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष रहेका छन्।  

प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका छन्। नेता देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, डेनमार्क, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.