लमजुङ । मनाङका बाढीपीडितलाई साढे पाँच महिनापछि २ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ ।
गण्डकी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराएको हो । पूर्ण क्षतिको सूचीमा परेका तालगाउँका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री रामजी बरालले केही दिन अघि धारापानीमा आएर २र२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख रुपैयाँ बजेट आएको थियो । प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार १ लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख रुपैयाँ आएको उनले बताए ।
उनका अनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि हो । संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको उनले बताए । मन्त्री बरालले भने विशेष प्याकेजका रूपमा बाढीपीडितलाई उक्त रकम प्रदान गरिएको बताए ।
नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङका गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिरोले क्षति पुर्याएको थियो। यसमा पूर्ण क्षति भएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् । आंशिक क्षति न्यून जोखिमका २३ घर छन् । उनका अनुसार वडा १ को तालमा मात्रै ५८ घरमा क्षति पुगेकोमा २३ घरमा पूर्ण क्षति छ ।
नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ जना रहेकोमा ३९ जनाले २ लाख रुपैयाँका दरले राहत पाएको बताए । ५ जनाको भने केही कागजात अपुग भएको भन्दै नपाएको उनले बताए । उनका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन भन्दै उक्त रकम बाढीपीडितलाई प्रदान गरिएको हो ।
मनाङमा पुनर्निर्माणका लागि केन्द्रले ६० प्रतिशत, प्रदेशले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।