add

जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै






ActPro Nepal

|

२४ कार्तिक, २०७८

|
644

काठमाडौं । प्रजातन्त्र पुनर्स्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । 

ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मेका उनकाे २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मेका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । 

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोडेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भए । 

विसं २०१५ मा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे ।  विसं २०३३ मा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहे । 

तत्कालीन पञ्चायती सरकारले बीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे ।

विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बनेका थिए । 

नेता सिंहलाई विसं २०१७ पुस १ गतेको ‘कू’पछि विसं २०२५ सम्म बीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । २०२५ मा जेलमुक्त भएपछि बीपीसँगै भारत निर्वासनमा गएका नेताहरूलाई २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो । 

विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बीपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ ।- रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.