काठमाडौं । बीमा पोलिसी सरेन्डर दर निरन्तर बढेको पाइन्छ ।
आर्थिक शिथिलता कायमै रहँदा बीमितहरूले नियमित प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका हुन् ।चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिना (साउन-मंसिर)मा ६ अर्ब रुपैयाँ बढीको बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको मंसिर मसान्तसम्म कुल ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । यस अवधिमा १४ जीवन बीमा कम्पनीका ४५ हजार ६० वटा पोलिसी सरेन्डर भएका हुन् ।
चालु आवको मंसिरसम्म भएको पोलिसी सरेन्डर जीवन बीमा कम्पनीले सोही अवधिमा गरेको नयाँ व्यवसायको आधा रकम बराबर हो । मंसिरसम्म जीवन बीमा कम्पनीले नयाँ पोलिसी जारी गरी १२ अर्ब ६८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । जबकि, यही अवधिमा ६ अर्ब १० करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो ।
अर्थतन्त्रमा आएको मन्दीको असर बीमा व्यवसायमा देखिएको बीमा व्यवसायीहरू बताउँछन् । आम्दानी नहुँदा बीमितले समयमै बीमा शुल्क तिर्न नसक्दा सरेन्डरको समस्या देखिएको उनीहरूको भनाइ छ ।
आर्थिक मन्दीका कारण मानिसको आम्दानी खुम्चिँदा नियमित प्रिमियम तिर्न सकेका छैनन् । विगतमा नियमित रुपमा प्रिमियम तिर्दै आएका बीमितहरूले अहिले प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका हुन् । ऋण खोजेर प्रिमियम तिर्नुभन्दा संकटको बेलामा पोलिसी सरेन्डर गरेर भएको पैसा निकाल्नु नै उपयुक्त हुने बीमितको बुझाइ देखिन्छ । जसले पोलिसी सरेन्डर झनै बढाएको बीमकहरू बताउँछन् ।
नेपाल बीमा प्राधिकरणका अधिकारीहरू भने अभिकर्ताले कमिसनको लागि जथाभावी बीमितलाई पोलिसी थमाउँदा पनि सरेन्डरको क्रम बढेको बताउँछन् । त्यस्तै, एउटा कम्पनीमा काम गरिरहेको एजेन्ट कमिसनको लोभमा अर्को कम्पनीमा जानले पनि पोलिसी सरेन्डर बढेको उनीहरूको भनाइ छ ।
बीमा दाबी भुक्तानीमा हुने ढिलाइ र बीमा कम्पनीहरू प्रति घट्दो विश्वासका कारण पनि पोलिसी सरेन्डर बढ्दै गएको बीमा क्षेत्रका जानकारहरू बताउँछन् ।
कुनको कति पोलिसी सरेन्डर ?
चालु वर्षको ५ महिनामा सबैभन्दा ठूलो धक्का लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाललाई लागेको छ । यस अवधिमा एलआइसीका ११ हजार ७९३ बीमितले पोलिसी सेन्डर गरेका छन् । उनीहरूले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । यो कुल सरेन्डरको ३१.६५ प्रतिशत हो ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको पनि १ अर्ब ६८ करोड रुपैयाँको १० हजार ३७१ पोलिसी सरेन्डर भएको छ । यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँ बराबरको ५ हजार ४१० वटा, नेशनल लाइफको ३७ करोड ११ लाख रुपैयाँको २ हजार ५४१, मेट लाइफको १७ करोड २३ लाख रुपैयाँ बराबरको १ हजार ५१६, एशियन लाइफको ४० करोड १४ लाख रुपैयाँ बराबरको ३ हजार ७५२ वटा पोलिसी सरेन्डर भएको छ ।
त्यसैगरी, आइएमई लाइफको ८ करोड ८३ लाख रुपैयाँको ७६३ वटा, सन नेपाल लाइफको २ करोड ९४ लाखको २९५ वटा, सिटिजन लाइफको ८ करोडको १ हजार १०८, सूर्यज्योति लाइफको ३२ करोड ६४ लाखको २ हजार ४८८ वटा, सानिमा लाइफको १० करोड ९५ लाखको ७८७ वटा, हिमालयन लाइफको २८ करोड ३० लाखको ३ हजार ३३ वटा र प्रभु महालक्ष्मी लाइफको ७ करोड ८० लाख रुपैयाँ बराबरको ५४९ वटा पोलिसी सरेन्डर गरेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।