सोलुखुम्बु । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीले गरेका काम न्यायोचित, कानुनसम्मत र विवेकपूर्ण हुनुपर्ने बताएका छन्। इलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय, आवास तथा मेस भवनको शुक्रबार उद्घाटन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन्।
भवन उद्घाटनका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको कार्य प्रकृतिको संवेदनशीलताले गर्दा प्रहरी भवनहरूको फरक आवश्यकता र सुरक्षा मापदण्ड हुने र नागरिकको सुरक्षाका खातिर चुनौतीहरूको सामना गर्दै हरप्रहर ड्यूटीमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई सुविधासम्पन्न कार्यालय र आवासको व्यवस्था गर्ने कार्यलाई संगठनले उच्च प्राथमिकतामा राखेको बताएका थिए।
भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा त्यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने र स्वस्थ कार्य वातावरण निर्माण भई सेवा प्रवाहलाई गुणस्तरीय एवं प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्दै उनले भने, 'नव निर्मित भवनको उपभोगबाट यहाँ कार्यरत प्रहरीहरूको बसाइँ सहज र व्यवस्थित हुने तथा सेवाग्राहीहरूको सेवा प्राप्तिमा समेत सहजीकरण हुने विश्वास लिएको छु।'
उद्घाटन पश्चात उनले पहिलो पटक सगरमाथा आरोहण गर्ने आरोहण दलका सदस्य ९४ वर्षीय कान्छा शेर्पालाई अभिनन्दन गर्नुको साथै प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गरेका थिए।
महानिरीक्षक थापा क्षेत्रीले देशी विदेशी हरेक मानव जातिको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराधहरू रोकथामको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य अत्यन्त महत्वपूर्ण रहने चर्चा गर्दै निकुञ्जबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीको विषयमा पनि उत्तिकै सजग र सचेत रहनुपर्नेमा जोड दिए।
नवनिर्मित १\१ तले ३ वटै भवन नेपाल सरकार राष्ट्रिय पुन: निर्माण प्राधिकरणको आर्थिक सहयोगमा कुल २ करोड ४ लाख ४७ हजार ८ सय ५५ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो।
समारोहमा १ नम्बर प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, संचारकर्मी, भद्रभलादमी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।