add

मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई देउवाको निर्देशन






ActPro Nepal

|

९ कार्तिक, २०७८

|
925

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर भित्र सम्पन्न हुने गरी  १४ औँ महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरुबीचको छलफलमा बोल्दै सभापति देउवाले निर्वाचन समितिलाई मंसिर भित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको उल्लेख गर्दै सोही अनुसारको कार्यतालिका बनाउन सचेत गराए । पार्टी सभापतिले मंसीर भित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनु भएको पार्टीका सह महामन्त्री डा. प्रकाश शरण महतले जानकारी दिए । उनले भने, ‘पार्टी सभापतिले स्पष्ट रूपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईँहरूले यो प्रक्रियालाई चाँडोभन्दा चाँडा अगाडि बढाउनुहोस् । र मंसीर भित्र महाधिवेशन गरी सक्नुपर्छ । त्यस कारण यो तलदेखि केन्द्रीय महाधिवेशन जुन छ, यो मंसीर भित्र हुनुपर्छ । र त्यही अनुरूप तपाईँहरूले कार्यतालिका लागि होमवर्क गर्नुस् भनेर सभापतिले स्पष्ट निर्देशन दिनु भएको छ ।’

यता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मंसिर भित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ । महाधिवेशनको कार्यतालिकामा हुने सानोतिनो हेरफेर र महाधिवेशनको अन्य तयारीको लागि पनि तत्काल केन्द्रीय कार्य समितिको बैठक बोलाउन आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए । उनले भने, ‘महाधिवेशनको कार्यतालिकामा केही सानोतिनो हेरफेर गर्नु पर्‍यो भने कार्य समितिले बनाएको कार्यतालिका हो । र त्यसलाई हेरफेर गर्न पनि केन्द्रीय कार्य समिति बैठक बोलाउनु पर्छ । त्यसलाई फर्मल बनाउन पनि केन्द्रीय कार्य समितिको बैठक बोलाइयोस् भनेर मैले माग गरेको छु । सायद बोलाउनु होला ।’

नेपाली काँग्रेसले १४ औँ महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो । तर तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाइ भएपछि सभापति देउवाले मंसीर भित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.