add

सहकारी सम्बन्धी कानुन पुनरावलोकन गर्दै काठमाडौं महानगर, यस्ता छन् सुझाव






ActPro Nepal

|

२२ पुष, २०८१

|
71

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीहरूको समस्या समाधानका लागि कानुन पुनरावलोकनको तयारी गरेको छ । महानगरले आफ्नो नियमन क्षेत्राधिकार भित्र रहेका सहकारीहरूको समस्या सुल्झाउन कानुन पुनरावलोकनको तयारी थालेको हो ।

यसैक्रममा, महानगरले कानुन निर्माण र सहकारीको समस्या समाधान गर्न विभिन्न सरोकारवालाहरूसँग सुझाव मागेको थियो । नियमन क्षेत्राधिकारभित्र भएका सहकारीहरूको समस्या सुल्झाउन काठमाडौँ महानगरपालिकाले कानुन पुनरावलोकन गर्नुपर्ने, सहकारी वर्गीकरण गर्नुपर्ने, कर्जा सूचना केन्द्र स्थापना गर्नुपर्ने सहितका काम गर्न विज्ञहरूले १४ बुँदे सुझाव दिएका छन् ।

सहकारीसँग सम्बन्धित कानुन पुनरावलोकनका लागि महानगरपालिका सम्बद्ध नीति निर्माताहरूसँग छलफल गर्न, सहकारी कानुन र सिद्धान्तको पूर्ण परिपालना तथा कार्यान्वयनका लागि सहकारी अभियन्तासँग सहकार्य गर्न, ऋण असुली संयन्त्र स्थापना गर्न, कर्जा सूचना केन्द्रको स्थापना गर्न, सहकारी शिक्षा तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्न सुझाव प्राप्त भएको छ ।

यथार्थ विवरण तयार गरी सूचकका आधारमा सहकारी संस्थाहरूकोे वर्गीकरण गर्न, जनप्रतिनिधि र अभियानलाई संलग्न गराएर बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियमित रुपमा गैरस्थलगत तथा स्थलगत निरीक्षण तथा अनुगमन गर्न, प्रवर्धन र नियमनलाई थप प्रभावकारी बनाउन सहकारी विभागको क्षमता विकास वृद्धि गर्न, नगरस्तरीय समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न, समस्याग्रस्त सहकारी व्यवस्थापन संयन्त्रमा सम्बन्धित सहकारीका जिम्मेवार पदाधिकारी समेतलाई आवद्ध गर्न सुझाव प्राप्त गरिएको विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार निष्क्रिय सहकारीलाई सक्रिय बनाउन, सक्रिय हुन नसक्नेरनचाहने तथा खराब अवस्थामा रहेका सहकारीलाई खारेजी प्रक्रियामा लैजानसमेत सुझाव आएको छ ।

आवश्यकता पहिचान गरेर सहकारीको संख्या कायम गर्न, गुणात्मक तथा संस्थागत क्षमता विकास गरेर संस्थाहरूको एकीकरण गर्न, बचत तथा ऋण सहकारी संस्थामा नियमित बचतको अवधारणा कडाइका साथ लागु गर्न र यसरी गरिने व्यवस्थापनकीय कामलाई प्रविधिमैत्री बनाउँदै सहकारी संस्थाले प्रयोग गर्ने डिजिटल एप्लिकेसनको गुणस्तर परीक्षण तथा अनुगमन गर्न सुझाएको छ ।

निश्चित तालिम र दक्षताको प्रमाण पत्र भएका व्यक्तिले मात्र सहकारी संस्था दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन सके भविष्यका जोखिम कम गराउन सकिनेमा प्रस्तुतकर्ता र विज्ञहरूको जोड थियो ।

नियमन गर्नु पूर्व क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नु पर्ने, प्रवर्धनका विविध कार्यक्रम चलाउनु पर्नेमा जोड दिँदै उनले बचत फिर्ता र ऋण फिर्ताको काम गर्न महानगरपालिकाले कर्जा असुल न्यायाधीकरण गठन गर्न सक्ने बताए । बचत र ऋण प्रवाहको कार्ययोजना मागेर त्यसका आधारमा सहकारीहरूको नियमन गर्नुपर्ने उनको सुझाव छ ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम पाठकले, दर्ता भएकामध्ये एक तिहाइ सहकारी निष्क्रिय भएको हुन सक्ने बताए । यस्ता सहकारीले गर्ने क्रियाकलापबाट सहकारी क्षेत्रमा पर्ने अबगाल रोक्न नियमनकारी निकाय सक्रिय हुनुपर्ने उनको भनाइ छ ।

सहकारी संस्थाबाट ९५ प्रतिशतसम्म ऋण एउटै व्यक्तिले लिएको समेत भेटिएको छ । महानगरपालिकामा बचत रकम फिर्ता नदिएको, सेयर रकम फिर्ता नदिएको, बचत रकममा धेरै करकट्टी गरेको, विभागले पठाएको पत्रलाई प्रहरीले चासो नदिएको, सञ्चालकहरू भाग्न लागेकोले आफ्नो बचत जोखिममा परेको, समयमा साधारण सभा गरेर आफ्नो रकम सुरक्षाका विषयमा जानकारी नदिएको, कार्यालय बन्द हुने गरेको जस्ता समस्या लिएर बचतकर्ता आउने गरेका छन् ।

विभागमा आउने धेरै उजुरीहरू सञ्चालक समितिका सदस्य, बचतकर्ता, ऋणी, घरधनी र कर्मचारीसँग सम्बन्धित छन् । हस्तान्तरण नभएको, नगरेको, गर्न नचाहेको, ऋण नतिरेको, सबै सञ्चालक सक्रिय नभएको, बचतकर्ताले तनाव दिएको, आफू सञ्चालक भएको आफैँलाई जानकारी नभएको, हुलाकबाट राजीनामा दिएर कार्यालयको दायित्व नलिएको जस्ता समस्या सञ्चालकका समस्या हुन् ।

२०७५ साउन १ गतेदेखि डिभिजन सहकारीले गर्दै आएका काम महानगरमा हन्तारन्तरण भएको थियो । हस्तान्तरण हुनु अघि नै अर्थात् २०७४ सालमा नै काठमाडौं महानगरपालिकाले सहकारी ऐन जारी गरिसकेको थियो ।

सहकारी अध्यादेश

सहकारीहरूमा देखिएको अवस्थालाई सम्बोधन गर्न पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट सहकारी सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । संसद्को अधिवेशन नभएकोले अध्यादेशमार्फत नयाँ व्यवस्था गरिएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम जारी अध्यादेशमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था गरिएको छ । यससँगै राष्ट्रिय सहकारी विकास बोर्ड खारेज भएको छ ।

संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमनको जिम्मेवारी प्राधिकरणलाई दिइएको छ । सहकारीको ऋण र बचतको सिमा तोकिएको छ । अध्यादेश जारी भएसँगै अब एक प्रदेशभन्दा धेरै प्रदेशमा कार्यक्षेत्र भएको सहकारीले प्रतिव्यक्ति बढीमा ५० लाख रुपैयाँसम्मको मात्र निक्षेप लिन पाउने भएको छ । एक जिल्लाभन्दा धेरै कार्यक्षेत्र भएको सहकारी संस्थाले २५ लाख र बढीमा एक जिल्ला कार्यक्षेत्र रहेको सहकारी संस्थाले प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म मात्रै निक्षेप लिन पाउनेछन् । १० लाख रुपैयाँभन्दा बढीको बचतमा स्रोत खुलाउनु पर्ने ब्यवस्था गरिएको छ ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालक समितिमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी सञ्चालक हुन नपाउने र बचत रकम फिर्ता सम्बन्धी विशेष ब्यवस्था गरिएको छ । सहकारी ठगी मुद्दामा मिलापत्र हुन सक्ने व्यवस्था पनि अध्यादेशमा ब्यवस्था भए पनि प्रचलित कानुनबमोजिम मिलापत्र हुन नसक्ने संगठित अपराध, सम्पत्ति शुद्धीकरण र अन्य फौजदारी कसुरसँग सम्बन्धित मुद्दामा मिलापत्र गर्न रोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.