एजेन्सी । म्यानचेस्टर युनाइटेड फर्किएपछि च्याम्पियन्स लिगको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि इन्जुरी समयमा गोल खाँदै युनाइटेड यङ ब्वाइजसँग स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड १–२ गोलले पराजित भएको हो ।
च्याम्पियन्स लिगमा सर्वाधिक १७७ खेल खेल्ने कीर्तिमान बराबरी गरेका रोनाल्डोले खेलको १३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा युनाइटेडलाई अग्रता दिलाएका थिए । तर वान बिसाकाले रातो कार्ड खाएपछि युनाइटेड खेलको ३५ औँ मिनेटमा नै १० खेलाडीमा सीमित बन्न पुग्यो ।
रोनाल्डोले पहिलो हाफमा अग्रता दिलाएपनि युनाइटेड पहिलो हाफमा १० खेलाडीमा सिमित भएपछि खेलमा पकड गुमाउन पुगेको थियो ।
दोस्रो हाफको ६६ औं मिनेटमा निकोलस गमालेउले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले सिल्बान हेफ्तीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । योङ ब्वाइजले त्यसपछि लगातार आक्रमण बुनेपनि युनाइटेडको रक्षापंक्ति र गोलरक्षक डेविड डे हेया बाधक बनिरहे ।
इन्ज्युरी समयको पाँचौ मिनेटमा रोनाल्डोको स्थानमा मैदान छिरेका लिंगार्डले गम्भीर गल्ती गरेपछि योङ ब्वाइज अग्रता लिन सफल भएको थियो । लिंगार्डले दबाबमा रहेको अवस्थामा गोलरक्षकलाई दिएको पासलाई थिओसन जोर्डन सिबात्चेउले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै वन भर्सेस वनको स्थितिमा फिनिस गरे ।
जितसँगै समूह एफमा योङ ब्वाइज ३ अंक जोड्न सफल भएको छ । यस समूहमा रहेका भिल्लारियल र एटलान्टाले आज नै खेल्नेछन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.