काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । बिहान ११ बजे बैठक बोलाइएको स्थायी कमिटी प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
ज्ञवालीका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । बैठकमा ‘तेस्रो धार’ मा रहेका नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताए । नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन् ।
उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आएका छन् । पार्टी एकताका लागि ओली लचक हुनुपर्ने र नेपालले पनि नयाँ दल खोल्न नहुनेमा उनीहरूको जोड छ । सोमबार अध्यक्ष ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूसितको छलफलपछि आजको लागि बैठक बोलाइएको हो ।
सोमबारको छलफलमा तत्कालीन एमाले विवाद समाधान गर्न गठिन कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको ज्ञवालीले जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।