add

मध्यराति ओलीको वक्तव्य : ‘अध्यादेश ल्याएर एमाले फुटाउने षड्यन्त्र क्षम्य हुने छैन’






ActPro Nepal

|

१ भदौ, २०७८

|
1099

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न खोजिएको बताएका छन् । 

सोमबार राति पाँच बुँदे वक्तव्यमार्फत् अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताएका हुन् ।

विज्ञप्तिमा ओलीले एमाले र सो पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र मान्य र क्षम्य हुन हुन नसक्ने स्पष्ट पारेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेर दल विभाजनका लागि एमालेकै माधव कुमार नेपाल समूहलाई सजिलो पार्नेगरी अध्यादेश ल्याउन लागेको चर्चाका बीच आलीले विज्ञप्तिमार्फत दल विभाजनसम्बन्धी षड्यन्त्र क्षम्य हुन नसक्ने बताएका हुन् ।

पूर्व घोषित प्रतिवद्धता विपरीत प्रतिनिधिसभाको चालू अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने पडयन्त्र गरिँदैछ,’ ओलीले भनेका छन्, ‘एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा पडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन ।’

उनले पार्टी विभाजनको प्रयास असफल पार्न पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई अपिलसमेत गरे । ‘पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरुविरुद्ध दृढताका साथ उभिन अपिल गर्छु,’ उनले भनेका छन् ।

ओलीले ०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिष्ट पार्टीलाई एकतावद्ध राख्न हरसम्भव कोसिस गरेको स्मरण गर्दै त्यो सम्भव नभएपछि एमालेलाई नेकपाको विरासत सहितको एकीकृत पार्टीका रुपमा विकास गर्न केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । यस क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

ओलीले साउन १ गते सम्पन्न पार्टी स्थायी कमिटीको बैठक र साउन ४–७ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधानका लागि महत्वपूर्ण आधारका रुपमा रहेको उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको पनि बताएका छन् ।

‘सयौं सहीदहरुको वलिदान, हजारौं नेता तथा कार्यकर्ताको कष्टसाध्य संघर्ष, लाखौं सदस्यको मेहनत तथा जनसंख्याको अत्यधिक ठूलो हिस्साको समर्थनमा निर्माण र विकसित भएको यो पार्टी आफैंमा सामाजिक, न्याय र विकासको पर्याय बनेको छ ।

पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ’, ओलीले भनेका छन्, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, कमरेडली समभावमा विश्वास गर्दछु । सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनु पर्दछ भन्ने मान्दछु ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.