काठमाडौं। सुनसरीको धरानस्थित प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान हुँदा चौकीका इन्चार्ज असई नै घाइते भएका छन् ।
बिहीबार साँझ उजुरी दिन आएका एक युवकलाई पच्छ्याउँदै मोटरसाइकलमा हतियार बोकेर आएका १२ भन्दा बढी युवकले प्रहरीलाई नै आक्रमण गरेका हुन्।
धरान वडा नम्बर १५ बाझगरस्थित वडा कार्यालयनजिक रहेको प्रहरी चौकीमा उनीहरूले आक्रमण गर्दा त्यहाँका ५ प्रहरी घाइते भएका हुन्।
प्रहरीका अनुसार आफूलाई धम्की आएपछि धरान ३ का प्रसन्न लिम्बू जाहेरी दिन त्यस प्रहरी चौकीमा आएका थिए।
उनैलाई खोज्दै आएको हतियारधारी समूह प्रहरी चौकीभित्रै पसेर उनलाई आक्रमण गर्न खोजेपछि प्रहरीले बचाएका थिए। त्यही क्रममा उनीहरूले प्रहरीलाई आक्रमण गर्दा प्रहरी चौकीका इन्चार्ज असई सुमन दाहालसहित ड्युटीमा रहेका ५ प्रहरी घाइते भएका हुन्।
आक्रमणकारीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।