add

राष्ट्रपति २ दिने मैत्रीपूर्ण निमन्त्रणामा आज बंगलादेश प्रस्थान गर्दै,को-को परे राष्ट्रपतिको भ्रमण दलमा ?






ActPro Nepal

|

९ चैत, २०७७

|
1181

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशका राष्ट्रपति महम्मद अब्दुल हमिदको २ दिने मैत्रीपूर्ण निमन्त्रणामा आज बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दै छिन्। नेपाल एअरलाइन्सको चार्टड विमानबाट आज बिहान साढे ८ बजे उनी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्।

बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज त्यसतर्फ जान लागेकी हुन्।

उनी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछिन्। त्यहाँ पुग्दा उनलाई बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्नेछन्। राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिनेछ। सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्नेछिन्।

उनले आजै बंगलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण दलमा कोको ?

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा भेषराज अधिकारी रहनेछन्।

यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा छन्। भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी रहने छन्।

यी विषयमा हुँदैछन् सम्झौता

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेभएको छ।

त्यहाँ हुने सम्झौतालाई मन्त्रिपरिषद्का पछिल्ला बैठकले अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको उक्त भ्रमणबारे यही चैत ६ गतेको प्रतिनिधिसभाको बैठकमा जानकारी गराउँदै यस भ्रमणले दुई पक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने बताएका थिए।

बंलादेशले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ।

नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ। उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर नेपालले छिमेकी र अन्य मुलुकसँग पारस्परिक साझेदारी र सहयोगका क्षेत्र पहिल्याउँनाका साथै आपसी उच्चस्तीय भ्रमण तथा सम्बन्ध विस्तारको क्रमलाई निरन्तरता दिँदै आएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.