काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक बस्न लागेको हो।
प्रतिनिधिसभा पुनःस्थापनापछि तेस्रो पटक बैठक बस्न लागेको हो। यसअघि गत फागुन २३ र २६ गते प्रतिनिधिसभा बैठक बसेको थियो।
आज सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१०) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र संविधानसभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ।
यसअघि सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। अधिवेशन सुरु भएको पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्ने भए पनि प्रतिनिधिसभाको तेस्रो बैठकमा समेत सातवटा अध्यादेश पेश नहुने भएको छ।
संसद नचलेका बेला सरकारले जारी गरेका आठवटा अध्यादेश प्रतिनिधिसभाको २३ गते बसेको पहिलो बैठकमै पेश हुनुपर्ने भए पनि मंगलबार बस्ने बैठकमा समेत पेश गर्न दलहरु तयार नभएका हुन्।
प्रतिनिधिसभाको नियमावली कानुन सरह लागू हुने भए पनि सरकार र दलहरुले त्यसलाई उल्लंघन गरेका छन्। बाँकी सातवटा अध्यादेशबारे अन्योल सुरु भएको हो।
पुनःस्थापित संसदको अविधेशन सुरु हुनुभन्दा अघि सरकारले जारी गरेका अध्यादेश संविधानको भावना र मर्मविपरीत भएको भन्दै कांग्रेसले २३ गतेको बैठक अवरोध गरेको थियो।
त्यस्तै साविक नेकपाको प्रचण्ड माधव नेपाल समूहले पनि केपी ओली नेतृत्वको सरकारले असार १८ गतेपछि जारी गरेका अध्यादेश लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको भन्दै विरोध जनाएको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।