add

राष्ट्रियसभा बैठक आज, ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने प्रचण्ड नेपाल समूहको रणनीति






ActPro Nepal

|

१७ पुष, २०७७

|
1186

काठमाडौँ । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि शुक्रबारदेखि राष्ट्रियसभाको पहिलो बैठक बस्दैछ । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठकका लागि कार्यसूचीबारे छलफल गर्न बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ । त्यसपछि अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुकोतर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य राख्ने कार्यसूची छ । राष्ट्रियसभामा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रतिनिधित्व छ ।

बैठकमा छैटौं अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसद्का सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ ।

सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपा ( पुष्पकमल दाहाल– माधवकुमार नेपाल) समूह, कांग्रेस र जसपाले उक्त कदमको विरोध गरेका छन् । नेकपा (दाहाल–नेपाल) समूहले राष्ट्रियसभाको अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नीति लिएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा दाहाल–नेपालसमूहले आफूहरुसँग सबैभन्दा बढी अर्थात् करिब दुई दर्जन सांसद रहको दाबी गरेको छ ।

प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रियसभामार्फत सरकारको कदमको जोडदार रुपमा विरोध र प्रतिरोध गर्ने यो समूहका एक सांसदले बताए ।

विपक्षी कांग्रेस र जसपाले पनि संसद् विघटनलगायतका मुद्दामा राष्ट्रिय सभामा बलियो उपस्थिति जनाउने तयारी गरेको छ । बैठक बस्ने भएपछि बिहीबार राष्ट्रियसभा सदस्यहरुको कोभिड–१९ परीक्षणको लागि स्वाब संकलन पनि गरिएको थियो ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.