add

उपराष्ट्रपति भन्छन्- जनतामा नैराश्यता आउनु दुःखद् हो






ActPro Nepal

|

१५ पुष, २०७७

|
929

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको बताएका छन् । तमु समुदायको ल्होछार पर्वको अवसरमा शुभकामना दिनेक्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको विषयलाई शुभकामना सन्देशमा नजोडे पनि उक्त कदमले जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् भएको उनले घुमाउरो शैलीमा बताएका हुन् । ‘जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् कुरा हो’, तमु (गुरुङ) समुदायको चाड तमु ल्होछार-ल्होसार २०७७ को अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले भनेका छन् ।

उपराष्ट्रपतिले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको प्रष्ट पारेका छन् । उनले संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्णपालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने र उपलब्धिको रक्षार्थ जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्ने उल्लेख गरे ।

‘नेपाली जनताले सात दशक लामो सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई नयाँ संविधानले संस्थागत गरेपछि राजनीतिक स्थायित्व हासिल भएको र देश विकास, समृद्धिको मार्गमा दु्रत गतिमा अगाडि बढ्नेमा पूर्ण विश्वस्त छौँ’, उनले थप भनेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त देश धर्मनिरपेक्ष राष्ट्र रहेको स्मरण गर्दै उहाँले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरङ्गी सम्मिश्रण एवं साझा सङ्गमको रुपमा रहिआएको नेपाल सामाजिक सद्भाव र सौहार्दताका लागि संसारभर सुपरिचित रहेको उनको भनाइ छ ।

नेपालका सबै समुदायका आ-आफ्नै मौलिक पहिचानसहितका भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व रहेको र विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडपर्व नेपालीको साझा चाडपर्व भएको उनको विश्वास छ । पुराना वर्ग (वर्ष)को विदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमु (गुरुङ) समुदायले मनाउने तमु ल्होछार/ल्होसार पनि फराकिलो हुँदै आमनेपालीको पर्वको रुपमा स्थापित हुँदै गएको भन्दै उनले सबैलाई शुभकामना दिएका छन् ।

मुसा वर्गको बिदाइ र गाई वर्गको स्वागत गर्दै मनाइने यो वर्षको ल्होछार/ल्होसार विश्वव्यापी महामारी कोभिड-१९ का कारण विगत वर्षजस्तो हर्षोल्लासका साथ सामूहिक रुपमा मनाउन सम्भव नभएपनि देश तथा विदेशमा रहेका सम्पूर्ण तमु दिदीबहिनी तथा दाजुभाइले घरघरमा ल्होछार-ल्होसार मनाउनु हुने विश्वास उनको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.