काठमाडौं । दसैँ सकिएलगत्तै रोजगारीका लागि फेरि भारत जाने नेपालीको सीमा नाकामा घुइँचो लागेको छ । भारतमा कोरोना भाइरसको महामारीका बीच भारत प्रवेशका लागि कैलालीको त्रिनगर गौरीफन्टा नाकामा लर्को लागेको हो ।
चाडपर्व मनाउन स्वदेश आएका मानिसहरु दसैं सकिए लगत्तै फेरि रोजगारीका लागि भारत फर्किएका हुन्। दसैँ सकिएर तिहार आउनै लाग्दा भारत जानु रहर नभई बाध्यता भइको उनीहरुले बताएका छन्।
सुदूरपश्चिमका दुई नाका गड्डाचौकी र त्रिनगर गौरीफन्टा भएर मात्रै दैनिक हजारौको संख्यामा नागरिकहरु भारत भइरहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १ गते देखि १६ गतेसम्म १२ हजार ७ सय ६३ नेपाली भारत प्रवेश गरेका छन्। जसमा २ हजार ४ सय ५० महिला र १ हजार ४ सय ५ बालबालिका पनि छन्।
देशमा रोजगारीको अवसर नपाएपछि पेट पाल्नकै लागि भारत जानु सुदूरपश्चिमका नागरिकको बाध्यता बनेको छ । विश्वमा कोरोना भारइसको महामारी सुरु भएपछि रोजगारीका लागि भारतलगायत अन्य मुलकमा रहेका धेरै नेपाली स्वदेश फर्किएका थिए ।
स्वदेश फर्किएका नेपालीहरुलाई त्यति बेला तीनै तहका सरकारले रोजगारीको सुनिश्चितता गर्ने ठूला ठूला योजना बनाएपनि रोगभन्दा भोकको डरले महामारीकै बेला विदेशीनु सुदूरपश्चिमबासीको बाध्यता हो ।
संसारमा सर्वाधिक संक्रमित हुने मुलुकको दोस्रो स्थानमा रहेको छ भारत । बुधबारसम्म मृत्यु हुनेको संख्या १ लाख २३ हजार ६ सय ५० पुगेको छ । कोरोना संक्रमितको संख्या ८३ लाख ३१ हजार ८ सय ७६ पुगेको छ भने ७६ लाख ५६ हजार ४ सय ७८ जना संक्रमित निको भएको छ ।
दैनिक थपिने संख्या हेर्ने हो भारतमा एक प्रकारले कोरोनाको आगो बलिरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।