add

स्याउको गाउँ बनाउन जुटे हेलम्बुवासी






ActPro Nepal

|

१९ कार्तिक, २०७७

|
1180

सिन्धुपाल्चोक। हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ। करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन्।

वि.सं. २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो।

अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू जुटेका छन्। स्याउ फल्न सुरू गरेको पहिलो वर्षमै ३०० किलोभन्दा बढी स्याउ बजारमा बेचिसकेको स्थानीय रेन्जेन ह्योल्मोले बताए। हेलम्बु क्षेत्रमा वर्षा भइरहने र बढी चिसो हुने भएका कारण स्याउ मीठो हुने पनि उनले बताए।

स्याउकै कारण हेलम्बुको पहिचान भएको र त्यसलाई गुम्न नदिने अठोटका साथ फेरि खेती सुरू गरेको पेमाल्हामु शेर्पाले बताइन्। स्याउ फल्न सुरू गरेकाले अब स्थानीय सरकारले बजार र प्राविधिकको प्रबन्ध गर्नुपर्ने किसानहरूको भनाइ छ।

“गाउँमा कृषि प्राविधिक नहुँदा रोग र कीराको प्रकोपबाट स्याउका बोटलाई जोगाउन समस्या परेको छ,” मेलम्चीघ्याङका कामी लामाले भने, “सरकारले यसतर्फ ध्यान देओस् भन्ने चाहन्छौँ।” त्यस्तै स्याउ फुल्ने समयमा असिना पर्ने गरेका कारण थप समस्यामा परेको उनले सुनाए।

नेपाल मात्रै नभई भारत र तेस्रो मुलुकमासमेत चर्चा कमाएको हेलम्बुको स्याउ पहिलेजस्तै फेरि लटरम्मै फलाउन र हेलम्बुलाई चिनाउन सबै गाउँमा स्याउका बिरुवा रोपिएको छ। हेलम्बु मात्र होइन अहिले यस क्षेत्रका मनोरम गाउँ किउल, बरुवा र बाँसखर्कका हिमाली गाउँमा पनि स्याउ खेती सुरू गरिएको छ। बजार नभएकाले पहिले उत्पादन गरिएको स्याउ किसानले गाईवस्तुलाई खुवाउने गरेका थिए।

गाउँपालिकाले पनि स्याउ उत्पादन गर्ने किसानहरूलाई विशेष सहुलियत दिने र हेलम्बुलाई स्याउको गाउँ बनाउने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। मनाङ एग्रोबाट बिरुवा ल्याएर परीक्षण गरिएकोमा राम्रो उत्पादन भएका कारण अब अन्य ठाँउमा पनि लगाइने गाउँपालिकाले बताएको छ। -रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.