काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेदेखि सर्वसाधारणका लागि खुला हुदैंछ ।
कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो । कुल कित्तामध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।
सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ताका लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ । १ अर्ब रुपैयाँ जारी पूँजी रहेको यस कम्पनीको सर्वसाधारणलाई आईपीओ विक्री पश्चात जारी पूँजी बराबरको रकम कायम हुनेछ । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
आईपीओ खरिद गर्न चाहनेहरुले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको माध्यमबाट घरबाटै पनि आवेदन दिन सकिने व्यवस्था छ ।
सानिमा जनरलको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बीबी प्लस (आईएस) रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधार औषतभन्दा राम्रो रहेको संकेत गर्दछ । यस कम्पनीको प्रतिशेयर आम्दानी २ दशमलव ६६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०६ दशमलव ३९ रुपैयाँ रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।