add

प्रदेश ५ को राजधानी र नामाकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै






ActPro Nepal

|

१९ असोज, २०७७

|
1112

रुपन्देही। प्रदेश ५ सरकारले प्रदेश सभामा पेस गरेको  राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरू हुँदैछ। 

प्रदेश सभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिने छन्। सांसदले धारणा राखिसकेपछि सरकारले पेस गरेको प्रस्ताव निर्णयार्थ पेस हुनेछ। यसरी छलफल र प्रस्ताव पेस गर्नका लागि प्रदेशसभाले तीन दिनको समय राख्ने गरी तयारी गरेको छ।

सोमबार र मंगलबार छलफल चलाएर बुधबार निर्णयार्थ पेस गर्ने तयारी सदनको छ। प्रदेश सभा राजधानीसम्बन्धी निर्णयलाई अबको तीन दिनभित्र सक्ने गरी आन्तरिक तयारीमा जुटेको छ। कार्यविधिअनुसार संशोधन प्रस्ताव र सांसदले धारणा राख्न माग गर्ने समयअनुसार छलफल कति लामो हुने भन्ने तय हुने छ।

राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलिपल्ट नै प्रदेश सभाले राजधानी र नामकरण टुङ्ग्याउने छ। प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रस्तावका पक्षमा दुई तिहाई नपुगेका खण्डमा भने संशोधन प्रस्तावमाथि मतदान हुने छ। मतदानका लागि सम्पूर्ण तयारी गरिएको छ।

प्रदेश ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि संशोधन पेस गर्नका लागि १८ घण्टाको समय निर्धारण गरिएको छ।  यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेस भएको थियो।

उक्त प्रस्ताव पारित गर्नका लागि निर्माण गरिएको प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावसम्बन्धी आन्तरिक कार्यविधि, २०७७ मा प्रस्तावमाथि छलफल समाप्त भएको १८ घण्टाभित्र चित्त नबुझेका प्रदेशसभा सदस्यले संशोधन पेस गरिसक्नुपर्ने नियम बनाइएको छ।

सामान्यतया विधेयकका लागि भने संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय दिइने प्रचलन भए पनि सभामुखले अधिकार प्रयोग गर्दै १८ घण्टाको मात्रै समय दिएका छन्। 

प्रस्ताव पारित हुनका लागि प्रदेश सभामा रहेका ८७ सांसदमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ। संविधानले प्रदेश सभाका कुल सदस्यको दुई तिहाई मतले प्रदेश राजधानी तोक्ने र नामाकरण गर्न सकिने उल्लेख गरेको छ। 

६१ सांसद रहेको नेकपा संसदीय दलका सबै सदस्यले प्रदेश सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ। कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६  र राष्ट्रिय जनमोर्चाका १  सांसद छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.