काठमाडौं । भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आइतबार हिन्दु महिलाले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।
महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।
ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । ऋषि पञ्चमीमा नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाएर एक छाक बस्नुपर्ने व्रतविधि छ ।
किन खाइन्छ कर्कलोको तरकारी
सामान्य तपाई हाम्रो गाउँघरमा पाइने तरकारी हो कर्कलो । यसको तरकारी कसैलाई मन पर्छ भने कसैलाई मन नपर्न सक्छ । यसको पात तथा फल दुवै तरकारीको रुपमा खान सकिने तरकारी हो कर्कलो ।
यसबाट प्रोटिन, पोटासियम, भिटामिन, आइरन लगाएतका तत्वहरु पाइने गर्दछ । हिन्दू नारीको ठूलो चाड तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन कर्कलोको तरकारी खाने प्रचलन छ ।
अघिल्लो दिन निराहार ब्रत बसेर पञ्चमीको दिन नदी किनारमा नुवाई–धुवाई गरेर पूजा अर्चना गरेपछि कर्कलोको तरकारीसँग खाना खाने गरिन्छ ।
ऋषिपञ्चमीका दिन कर्कलो नै खानुपर्ने नै भन्ने धार्मिक मान्यता छैन । यद्यपि, सुइरो भएर उम्रिएका कन्दमूल सेवन गर्दा राम्रो हुने कुरा शास्त्रमा उल्लेख छ ।
नुहाई–धुवाई र पूजाआजापछि शुद्ध कन्दमूल खाने मान्यताकै आधारमा कर्कलोको तरकारी खाने चलन सुरु भएको जानकारहरु बताउँछन् । धार्मिक मान्यतासँगै कर्कलोको तराकारी खानुका थुप्रै फाइदा छन् ।
चिकित्सकहरुका अनुसार कर्कलो खाने हो भने रक्त अल्पताबाट बच्न मद्दत पुग्छ । बाहिरका बट्टा र प्याकेटका कुहिएका खानेकुराभन्दा कर्कलो र पिँडालुको तरकारी प्रयोग गर्नु धेरै राम्रो हो ।
चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि कर्कलो खाने चलन छ । दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा, जस्ता देशमा सुप बनाएर खाइन्छ । कतिपय ठाउँमा कर्कलोको जरा अर्थात पिँडालुलाई आलुको सट्टा प्रयोग गरिन्छ ।
कर्कलोको बहुउपयोगीता
१. शरीरको तौल घटाउन : फाइबरको उत्कृष्ट स्रोत मध्ये कर्कलो पनि एक हो । यसलाई तरकारी र अचार लगायतका परिकार बनाएर खान सकिन्छ । कर्कलोले चाँडै भोक लाग्न पनि दिँदैन । एक सय ग्राम कर्कलाको अंशमा ५ दशमलव १ ग्राम फाइबर हुन्छ। कर्कलाले शरीरमा भएको क्यालोरी समेतलाई नियन्त्रणमा राखेर अनावश्यक शरीरको तौल बढ्न दिँदैन।
२. मधुमेहसँग लड्न मद्दत गर्ने : कर्कला भनेको कम ग्लाइसेमिक खाना हो, जसले कलेजोमा ग्लूकोज नियन्त्रण गर्ने प्रक्रियालाई ढिलो बनाउने गर्छ। यसमा प्रतिरोधी स्टार्च समावेश हुन्छ, जुन सजिलैसँग अवशोषित र पच्ने गर्दछ। यसले खाना पछि रगतमा सुगरको स्तरको वृद्धिलाई नियन्त्रण गर्छ ।
३. मुटु रोगबाट बचाउने :कर्कलोमा पाइने अधिक्तम फाइबरले शरीरमा कोलेस्ट्रोलकोस्तर कम गर्ने हुँदा मुटु रोग लाग्नबाट बचाउँछ । कर्कलोमा शून्य फ्याट र शून्य कोलेस्ट्रोल हुनेगर्दछ। यसमा भिटामिन इ पनि प्रशस्तरुपमा पाइन्छ, जसले गर्दा हड्डीका बिरामीहरुलाई पनि फाइदा गर्दछ।
४. एन्टीअक्सीडेन्टको खानी : कर्कलोमा एन्टीअक्सीडेन्ट भरपुर मात्रामा पाइने गर्द छ। यसमा पाइने पोलीफेनोलहरू (मुख्यतः क्वेरेसेटिन)ले क्यान्सर जस्तो प्राण घातक रोगहरूबाट बच्न मद्दत गर्दछ। कर्कलो पातमा पाइने एन्टिआक्सीडन्ट, बीटा क्यारोटीन्स र भिटामिन ए ले समग्र स्वास्थका लागि फाइदा हुने गर्दछ।
५. उच्च रक्तचाप नियन्त्रण गर्ने : कर्कलोमा शून्य फ्याट तथा कम सोडियम हुने गर्दछ। जसले उच्च रक्तचाप भएका मानिसहरुको स्वास्थमा फाइदा पुराउने गर्दछ।
६. गर्भवती महिलाका लागि उत्तम : कर्कलोमा प्रशस्त मात्रामा आइरन पाइने भएका यसले भ्रुण लगायत गर्भवती महिलाको स्वास्थमा सकारात्मक प्रभाव पर्ने गर्दछ। यसैगरी, काटेको ठाउँमा रगत रोक्न पनि कर्कलाको डाँठको रस प्रयोग गर्न सकिन्छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।