मानव जीवनलाई सरस, सहज, सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखाँवोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म -संस्कृति हो।
सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा-ढुङ्गामा भगवानकाे बाँस देख्छौ । त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबूआमालाई पूजेनौँ भने त नेपाल आमा प्रतिको अपमान हुनेछ। प्रत्येक क्षण अनि पल बाबालाई मन अनि मस्तिष्कमा राख्नुपर्छ र पहिलो पाइला चाल्दाखेरी थाम्न प्रयोग भएका हात बिर्सिने त कुरै हुँदैन। तरपनि उहाँको सम्मानको लागि हाम्राे हिन्दु संस्कृतिमा एउटा बिशेष दिन छुट्याइएको छ । जसलाई बाबुको मुख हेर्ने दिन भनिन्छ। जुन भाद्रकृष्ण अमावास्यका दिन पर्दछ। जुनदिनलाई कुशेऔंसी र गोकर्ण औंसी पनि भनिन्छ।
यस दिनमा बिशेष गरेर आफ्ना स्वर्गीय पितृको स्मरण गरी तर्पण पिण्डादि दान गर्ने यस शुभ दिनलाई पछि पिताको मुख हेर्ने दिनको रूपमा पनि मनाउन थालिएको पाइन्छ। औंसी तिथिका देवता पितर हुनुहुन्छ। औंसी तिथिमा पितृलोकमा मध्यदिन भएको हुन्छ। यो पितृको भोजनको लागि उपयुक्त समय रहेकाले पितृको तर्पण श्राद्ध गर्ने शास्त्रीय विधान रहेको छ। औंसीका दिन गरिएको श्राद्धले पितृ तृप्त हुन्छन् र आशीर्वाद पनि प्रदान गर्दछन्।
आजकौ दिनमा स्वर्गीय पितृहरु उत्तर गयामा आएका हुन्छन् र पुत्रले दिएको पिण्ड पाउँछन् भन्ने शास्त्रीय प्रमाण पाइन्छ।
यदि हामीले पीताको वचन जीवनभर पालन गर्यौं र मृत्यु भएपछि लोकलाजले नभई सच्चा मनले क्रियाकर्म गरिदियौं भने ब र्षदिनमा गया श्राद्ध गरिदियौं भनेमात्र सच्चा पितृसम्मान हुन्छ।
"जीवतो वाक्यकरणान्मृताहे भूरिभोजनात्।
गयायां पिण्डदानश्च त्रिभिःपुत्रस्य पुत्रता।"
नत्र बर्ष दिनमा एकपटक अनुहार पुस्तिका सजाएर केही पनि हुनेछैन । मनुस्मृति अनुसार गुरुभन्दा सय गुणा माथि पिताको स्थान दिइएको छ
"आचार्याणां शतं पिता.."।
यसैगरी उपनिषद्ले पितालाई देवताको कोटिमा राखेका छन्।
"पितृ देवो भव"
(तैत्तिरियोपनिषद १/११) अर्थात् पितृदेवता समान हुन्छन् ।
कुश देव र पितृकार्यको लागि प्रयोग हुने गर्छ। जसकाे प्रयोगले सम्पूर्ण कुरा पवित्र हुन्छन् भन्ने धार्मिक मत रहेको छ। कुशेऔंसीका दिन प्रातः सप्तमृतिका लेपन गरेर मेरो पाप हरण गर्नुहोस् भनेर स्नान गरि सकेर आफ्नो जप नित्यपूजा गर्नुपर्दछ। त्यसपछि कुश भएको ठाउँमा गई पवित्र ठाउँको कुश पूर्वउत्तर फर्कि विशेष मन्त्र उच्चारणपुर्वक हुँ फट् भन्दै उखेली घरमा भित्राएको कुश एक वर्ष सम्म प्रयोग गर्न सकिन्छ भन्ने धार्मिक मान्यता छ। जसको प्रयाेग गर्नाले रक्षा हुन्छ त्यो नै मन्त्र हो।
मननात त्रायते यत तत् मन्त्रम"
कुश उखेल्दा भन्ने मन्त्र यसप्रकार रहेको छ।
"विरञ्चिना सहोत्पन्नः परमेष्ठिनिसर्गज।
नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव।।
पूर्वं मन्त्रं समुच्चार्य ततः पूर्वोतरामुखः ।
हुँफट्कारेण मन्त्रेण सकृच्छित्वा समुद्धरेत्।।"
अर्थात् ब्रह्माका साथ जन्मिएर ब्रह्माबाटै पवित्रता पाएका हे कुश हाम्रो सम्पुर्ण पाप नाशगरी हाम्रो कल्याण गर।"
कुशमा साक्षात ईश्वरको वास रहेको हुन्छ।
"कुशाग्रे वसतो रुद्रः कुशमध्ये तु केशवः।
कुशमुले वसेद् ब्रह्मा कुशान् मे देहि मेदिनि।।"
हे पृथ्वी माता! अग्र भागमा शिव मध्य भागमा विष्णु र मुलभागमा ब्रह्मा निवास गर्ने कुश मलाई प्रदान गर्नुहोस भन्दै उखेल्नु पर्ने विधान पनि रहेको छ।
देव कार्यमा कुशका पवित्र, उपयवन, ब्रह्मा, कंकण, दण्ड आदि बनाएर धारण गरिन्छ भने पितृकार्यमा पवित्र ब्रह्मा मटक आदि बनाउने गरिन्छ। कुश नभएको स्थानमा दुवोको प्रयोग पनि गरिन्छ जुन विकल्प हो ।
नफुलेको कुशलाई संस्कृतमा दर्भ भनिन्छ। जरा सहितको भागलाई कुतप भनिन्छ । सात पात एकै नालमा भएको र तिल उम्रेको ठाउँमा उम्रेको कुश (दर्भ) लाई शुभ मानिन्छ। अब कुशको उत्पत्तिको बिषयमा बुझौं ।
हाम्रा धार्मिक ग्रन्थअनुसार पहिला हिरण्याक्ष नाम गरेको दैत्यले पृथ्वीलाई लिएर समुन्द्रमा गयो।
त्यसपछि देवीदेवताको आग्रहलाई मानेर भगवान श्रीहरीले वराह रुप लिनुभयो र समुन्द्रमा गई हिरण्याक्षको उद्धार गरि पृथ्वीलाई आफ्नो दार्हामा राखेर ल्याउनुभयो । भगवान् कार्यसम्पन्न भएपछि उग्र भएर काम्न थाल्नुभएको थियोे र उहाँले काम्दा झरेका रौंबाट कुशको उत्पत्ति भएको भनिन्छ। यही कुरोलाई प्रस्टाउदै भगवान नारायणले गरुडलाइ भन्नुभएको छ
"दर्भा विभुतिर्मे तार्क्ष्य!मम रोमसमुद्भव।अतस्तत् स्पर्शनादेव स्वर्ग गच्छन्ति मानवाः।।
अर्थात् मेरो रौंवाट उत्पन्न भएको यो कुश मेरो विभुति हो। त्यसैले कुशको स्पर्श मात्रले पनि मानिस स्वर्ग जान्छन्। स्कन्ध पुराण अनुसार पतिब्रता व्रिन्दाको श्रापले गर्दा विष्णु भगवान कुश हुनुपरेको भन्ने प्रसंग पनि आउँछ।
मिति २०७७ साल भाद्र ३ गते ८/९ बजेसम्म औंसी तिथि रहेको छ। त्यस उप्रान्त प्रतिपदा तिथि आरम्भ हुन्छ। आजको दिन नै बाबुको मुख हेर्ने कुश भित्र्याउने दिन हो।