add

यस्तो छ राष्ट्रकविले आफू बितेपछि सार्वजनिक गर्नु भनेको गीत- त्यसरी होओस् मरण…






ActPro Nepal

|

३ भदौ, २०७७

|
1010

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री प्राप्त भएको छ ।

मंगलबार साँझ १०१ वर्षका उमेरमा दिवंगत भएका राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरेका थिए । छोरी शान्ति अधिकारीको परिकल्पना र संगीतमा पहिल्यै रेकर्ड गराएका थिए ।

गीतमा कर्ण दासको स्वर र छ । घिमिरेका नातिनीज्वाइँ डा. प्रकाश भट्टराईले उक्त बोलको गीतको अडियो सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गर्दै राससका समाचारदाता प्रकाश सिलवालमार्फत उपलब्ध गराएका हुन् । डा. भट्टराईले केही अनलाइनले आफ्नो मात्रै एकाधिकार र स्वामित्व जस्तो अर्थ लाग्ने गरी गीत सार्वजनिक गराएकामा आपत्ति प्रकट गरे ।

राष्ट्रकविको गीत :

“त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।

अमरापुरी सभामा आफैँलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।”

-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.