म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ। अर्मनको पाखु सामुदायिक वनबाट हिजो दिउँसो ४:३० बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर खत्रीले बताए।
“माथि डाँडाबाट खसेको पहिरो खोलामा गएर थुप्रिएको छ, पहिरोले थुनिएको खोला एकैचोटि बग्न थाल्यो भने तल्लो क्षेत्रका गाउँहरूमा क्षति पुर्याउन सक्छ”, वडाअध्यक्ष खत्रीले भने।
यसैबीच पहिरोले थुनिएको हिलाबाङ खोलाको अवस्था बुझ्न स्थानीय जनप्रतिनिधिसहितको एक टोली पहिरो स्थलतर्फ गएको छ। वडाअध्यक्ष खत्रीको नेतृत्वमा गएको टोलीले वनबाट खसेको पहिरोले थुनिएको खोलामा ठूलो पोखरी बनेकाले तल्लो क्षेत्रमा जोखिम बढेको जनाएको छ।
पहिरो स्थलमा बाबियाचौरबाट प्रहरीको टोलीसमेत प्रस्थान गरेको छ। खोला थुनिएपछि कुर्सिला र खारापानीका स्थानीय बासिन्दाहरू त्रसित भएका छन्। साविकको अवस्थामा पानी नबगेसम्म तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई जोखिम रहेकाले सजग रहन अनुरोध गरिएको छ। -रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।