काठमाडौं । नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना- २०७७ सार्वजनिक गरिएको छ। कार्ययोजना प्रहरी संगठनको पुनर्संरचना, सुदृढिकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धिमा केन्द्रित छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच उक्त कार्ययोजना सार्वजनिक गरेका हुन्। उनले कार्ययोजनाको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्न स्थापित ‘कार्ययोजना कार्यान्वयन कक्ष’को समेत विद्युतीय माध्यमबाट शुभारम्भ गरेका छन्।
सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर, प्रहरी प्रधान कार्यालयस्थित विभागीय प्रमुखहरु, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग समेत भिडिओ कन्फ्रेन्स मार्फत् कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कार्य योजनाको उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै १४ वटा विशेष लक्ष्य र १ सय ५७ वटा क्रियाकलापहरू समेटेर तयार गरिएको बताए।
प्रहरी कर्मचारीले कार्यसम्पादनको क्रममा पवित्र, विवेकशील र विनयी भई अगाडि बढ्नुपर्ने भन्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, “संयमीत हुनु जरुरी छ, तर डराउनु पर्दैन।”
विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ लाई नेपाल प्रहरीले चुनौतीको रुपमा सामना गरिरहेको अवस्थामा संक्रमित प्रहरी कर्मचारीको आत्मबल बढाउनका लागि विशेष पहल गर्न सम्बन्धित प्रमुखहरूलाई उनले निर्देशन पनि दिएका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।