सुर्खेत। नयाँ आर्थिक वर्ष शुरू भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदुरको ज्यालामा हेरफेर गरेको छ। जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदुरी गर्नेको पारिश्रमिक बढाएको हो।
समितिले निर्धारण गरेको दररेटअनुसार अब सरकारी काममा खटिने मजदुरको दैनिक ज्याला १०० रूपैयाँ बढेको छ। आर्थिक ऐनअनुसार १२ प्रतिशतसम्म मजदुरको ज्याला बढाइएको हो। निजी तथा गैरसरकारी सङ्घ–संस्थामा दैनिक ज्याला मजदुरी गर्नेको पारिश्रमिक पनि बढेको छ। अब डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा १०० रूपैयाँ बढेको हो। यसअघि दैनिक ८०० पाउने मजदुरले अबदेखि ९०० पारिश्रमिक पाउनेछन्।
निर्धारित दररेटअनुसार अब ज्यामीको दैनिक ६००, पलम्बरको ६८८, सिनियर पलम्बरको ७००, इलेक्ट्रिसियन हेल्परको ६००, इलेक्ट्रिसियनको ७००, निर्माण सामग्री परीक्षण गर्ने ल्याब असिस्टेन्सको ६४० र टेक्निसियनको ७४५ तोकिएको छ।
त्यस्तै, हलुका ड्राइभरको हकमा ६६०, हेभी ड्राइभरको हकमा ७३०, हेभि इक्विप्मेन्ट अप्रेटरको ८२०, ड्राइभर सहयोगीको ६००, नगर निरीक्षकअर्थात कार्यालय सहयोगी सरहलाई ६००, नर्सरी नाइके, क्याम्पस वर्कर, चौकीदार, कुचीकार, सर्भे हेल्पर र मालीको ६०० दैनिक ज्याला निर्धारण गरिएको छ।-रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।